काठमाडौं । सिरहामा एकजना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटना बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई कार्यालय परिसरभित्र अभियुक्तलाई झैं हतकडी लगाएर यातना दिएको भिडियो सार्वजनिक भएको हो ।
रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईको नेतृत्वमा सोमबार साँझ यातना दिइएको थियो । रायलाई सिरहा बजारबाट साँझ नियन्त्रण लिएर कार्यालयभित्रै हतकडी लगाउनुका साथै बाँधेर राखिएको हो ।
प्रहरी जवानका भाइ रजनिश रायका अनुसार महोत्तरीको जलेश्वर नगरपालिका-८ फुलहट्टा घर भएका मेरो दाईलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिइएको हो । उनले भने, ‘इन्स्पेक्टरले गाली गरेर बुटैबुटले हिर्काएका छन् । १२ घन्टासम्म बाँधेर कुटेका छन् ।’
हतकडी लगाएर लडाइएको दृश्य देखिएको भिडियोमा प्रहरी जवान रायले पटकपटक ‘यस्तो यातना नदिनु न सर’ भनेको सुनिन्छ । मदिरा सेवन गरेको भने पनि रायले प्रतिकार गर्दै मैले मदिरा सेवन गरेको छैन भनेका छन् ।
इन्स्पेक्टर राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हवल्दारसँग गुनासो पोखेका थिए । हवल्दारको सल्लाह अनुसार पीडित रायले राईसँग गुनासो गर्दै आएका थिए ।
घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले छानबिन गरिरहेको छ । डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार घटना बाहिरिएलगत्तै बुधबार कार्यालयले टोली गठन गरी छानबिन थालेको हो । जति सक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन टोलिलाई निर्देशन दिइएको छ ।
तर जिल्ला प्रहरी कार्यालय सिरहाले भने घटना ढाकछोप गर्न फरकफरक जानकारी दिइरहेको छ । जिल्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र पाण्डेले रायलाई यातना नदिएको बताए ।
