काठमाडौं । स्कुलमा बालबालिका लिन गएका महिलाहरुको घाँटीमा लगाएका सिक्री लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिकामा असार १७ देखि १९ गतेसम्म चार वटा घटना भएको थियो । ललिपुर प्रहरीका अनुसार १७ गते अपराह्न सवा ४ बजे ललिपुर–१० महर्जन गल्लीमा पेम्बाकुमारी तामाङको सुनको सिक्री लुटपाटको प्रयास भएको थियो ।
पौने ५ बजे वडा नम्बर ११ की मिना शाक्यको । १८ गते वडा नम्बर ११ की ममता महर्जनको सुनको सिक्री लुटपाटको प्रयास भयो । भोलिपल्ट १९ गते साढे ४ बजे ललिपुर ४ धोविघाटमा शारिका कुशवाहको सिक्री लुटपाट भयो ।
सबै घटनामा सिक्री लुटपाट वा लुटपाटको प्रयास गर्ने लोलिनकाजी महर्जन भएको प्रहरीले बताएको छ । ६ वटा चोरी मुद्दा र २ लागु औषध मुद्दामा पक्राउ परेका उनले दुई जनाको सहयोगमा लुटपाट वा प्रयास गरेका थिए ।
घटनामा रविन्द्र महर्जन (स्कुटर) र रोहन नेपाली (मोटरसाइकल) चालकमा रुपमा प्रयोग भएको पाइएको प्रहरीको दाबी छ ।
सीसीटीभी फुटेजमा देखिएअनुसार लोलिनकाजी बच्चा स्कुलबाट लिएर फिर्किएका महिलालाई पछ्याउँथे, र घाँटीमा लगाएको सिक्री लुटेपछि पूर्व योजनाअनुसार अगाडि बसेका मोटरसाइकल/स्कुलमा चढेर भाग्ने गरेका थिए ।
‘बच्चालाई छोडेर प्रतिकार गर्न नसक्ने भएकाले स्कुलबाट बच्चा लिएर आउने महिलाहरुलाई टार्गेट गरेको देखिन्छ’ ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले भने ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले लागुऔषधसमेत बरामद गरेको छ । उनीहरूका साथबाट फेनारगन २ एम्पुल, डाइजेपाम २ एम्पुल, नोफिन २ एम्पुल र सिरिन्ज ५ थाा बरामद भएको छ ।
यस्तै सुनको सिक्री १ थान, बा २९ प १५६२ नम्बरको पल्सर मोटरसाइकल, बा ९९ प ३६२८ नम्बरको एनटर्क स्कुटर पनि बरामद भएको एसएसपी शाहले बताए ।
उनीहरूविरूद्ध लागुऔषध तथा चोरीसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिए।
यसअघि असार २४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस्तै घटनामा पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो।
