काठमाडौँ । ‘तपाईंको नाम २ नम्बरमा छ । ३० करोड नदिए अपहरण गरी हत्या गरिदिन्छु’, खोटाङ राहबेशी गाउँपालिका वडा नम्बर १ राहबेशी स्थायी घर भएका रमेश कुमार गुरुङले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई यसरी पटक पटक धम्क्याए ।
यतिमात्रै होइन उनले हत्या गर्नको लागि योजना बनिसकेको भन्दै ज्यान बचाउने भए मागेको जति रकम दिन समेत दबाब दिइरहे । प्रसाईलाई धम्क्याउन उनले गत असार १३ गत साँझ ६ बजेर १२ मिनेटदेखि प्रवेश लामाको नामबाट पटक पटक फोन गरिरहे ।
‘हत्या गर्नको लागि योजना बनिसकेको छ । यदि सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ, डिमाण्डको रकम उपलब्ध गर्नुभयो भने तपाईंको जीवन बच्न सक्छ,’ फोन तथा पटक पटक एसएमएस समेत गरी गुरुङले ३ ०करोड रकम माग गरेको प्रहरीले जनाएको छ ।
केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले बार्गेनिङपछि फिरौती लिन आएको अवस्थामा गुरुङलाई मंगलबार पक्राउ गरेको हो । प्रसाईले प्रहरीमा दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा अभियुक्तसम्म पुग्न सफल भएको हो ।
उनलाई आवश्यक अनुसन्धान कारवाहीको लागिप्रहरी वृत्त महाराजगन्ज पठाइएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) संजय सिंह थापाले जानकारी दिए ।
हाल काठमाडौँको चुनदेबीमा बस्ने उनलाई महाराजगन्जबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । अभियुक्तविरुद्ध अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।
