काठमाडौ । ठमेलमा पुनः गुण्डाराज सुरु भएको झल्को दिने घटना भएको छ । आपराधिक पृष्ठभूमि भएको एक समूहले क्लब ओम्नियाका सञ्चालकमाथि क्लबमै कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।
नुवाकोट सूर्यगढी गाउँपालिका– १ का राजेन्द्र गुरुङलाई नुवाकोट ककनी– ५ का सानुभाइ भनिने युवराज गुरुङसहितको समूहले शुक्रबार राति २ बजे क्लबमै पुगेर कुटपिट गरेको हो ।
युवराज गुरुङले कुटपिट गर्दै गरेको भिडियोसमेत सार्वजनिक भएको छ । युवराजले क्लबमा खाएको बिलसमेत नतिरेरै हिँड्ने गरेका थिए । लामो समय वैदेशिक रोजगारीपछि नेपाल फर्किएका राजेन्द्रले चार महिनाअघि मात्रै क्बल सञ्चालनमा ल्याएका थिए ।
सानुभाइको समूहले क्लबको भौतिक संरचनासमेत तोडफोड गरेका छन् ।
राजेन्द्र गुरुङलाई कुटपिट गर्ने युवराज गुरुङ विभिन्न आपराधिक घटनामा संलग्न हुँदै आएका आरोपी हुन् । उनी प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटकै गुण्डा नाइके कुमार घैँटेका प्रमुख सहयोगी थिए ।
युवराजले यसअघि २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई गोली प्रहार गरेका थिए । सो अभियोगपछि फरार रहँदै हिँडेका सानुभाइलाई २०७२ मा प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएर हिँडिरहेको अवस्थामै पक्राउ गरेको थियो ।
उनको साथबाट प्रहरीले लोड गरिएको पेस्तोलसमेत बरामद गरेको थियो । सानुभाइकै समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जितबहादुर कार्कीमाथिसमेत आक्रमण गरेको थियो ।
पछिल्लो समय अधिकांश गुण्डा नाइकेहरू आपराधिक गतिविधि छोडेर राजनीतिमा लागेका छन् । तर, सानुभाइले भने आपराधिक गतिविधि विस्तार गर्दै आएको खुलेको छ । उनी प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी अधिकारीसँगसमेत हिमचिम गर्दै आएका थिए । घटनापछि व्यवसायी राजेन्द्रले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । हाल उनी फरार छन् ।
