काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको बताएका छन् ।
शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताए ।
उनले साधन श्रोतको कमी, देशको आर्थिक अवस्था कमजोर भएका कारणले प्रहरी प्रशासनलाई केही कठिनाइ भएको पनि बताए । उनले जिल्लाबाटै साइबर अपराधको मुद्दा निक्र्यौल गर्ने सरकारले निर्णयले थप सहयोग पुगेको बताए ।
प्रहरी प्रशासनलाई बलियो बनाउनका लागि गृह मन्त्रालयबाट राम्रो सहयोग मिलेपनि अन्य निकायबाट भने भनेअनुसारको सहयोग नपाएको गुनासो गरे ।
उनले प्रहरी समायोजनको विषय सरकारले तोकेको समयमा नै हुने विश्वास रहेको र सरकारको निर्णयमा आफूहरु कार्यान्वयनका लागि तयार रहेको बताए ।
उनले भने, ‘अहिलेको राजनीतिक नेतृत्वबाट प्रहरीलाई कामकाज गर्न सजिलो छ । प्रहरीले आफ्नो कार्य सम्पादन गर्नसक्छ । समग्र रुपमा संगठन रुपान्तरण र विकास गर्ने हकमा वातावरण राम्रो छ । त्यो वातावरण अहिलेको राजनीतिक नेतृत्वबाट प्राप्त भएको छ ।’
