एजेन्सी – आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा ८ वर्षपछि एक एसोसिएट टोलीको सहभागीता हुने पक्का भएको छ ।
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटबाट चार मध्य तीन टेस्ट टोली बाहिरिएपछि एक एसोसिएट टोलीको स्थान पक्का भएको हो ।
नेदरल्यान्ड्स र स्कटल्यान्ड मध्य एक टोली विश्वकप खेल्नेछन् । बिहीबार स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
यदि उक्त खेलमा स्कटल्यान्ड विजयी भएमा ८ अंकका साथ सोझै विश्वकप खेल्नेछ । तर स्कटल्यान्ड पराजित भएको खण्डमा दुबै टोलीको समान ६ अंक हुनेछ ।
यो अवस्थामा नेदरल्यान्ड्स र स्कटल्यान्डको नेटरनरेट हेरिनेछ । नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०.०४२ र स्कटल्यान्डको प्लस ०.२९६ छ ।
नेदरल्यान्ड्स विश्वकप खेल्न नेटरनरेट क्यालकुलेटर गरेर खेल्नु पर्ने हुन्छ । स्कटल्यान्ड झिनो अन्तरले पराजित हुँदा पनि विश्वकप खेल्ने सम्भावना देखिन्छ ।
उता श्रीलंका भने ८ अंकका साथ विश्वकपमा पुगिसकेको छ । एसोसिएट टोली नेदरल्यान्ड्स र स्कटल्यान्डको सानदार प्रदर्शनपछि दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज, घरेलु टोली जिम्बावे र आयरल्यान्ड विश्वकपमा पुग्न सकेनन् ।
विश्वकप क्रिकेटमा २०१५ पछि एसोसिएट टोलीको सहभागीता रहनेछ । अष्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न उक्त विश्वकपमा आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड र युएई गरि चार एसोसिएट टोलीले विश्वकप खेलेका थिए ।
आयरल्यान्ड र अफगानिस्तानले भने २०१८ देखि टेस्ट बनेका थिए ।
