दाङ । घोराही उपमहानगरपालिका १४, बैंकरोड निवासी विशाल अग्रवाल केही समयअघि नारायणपुरकी एक जना युवतीसँगको प्रेममा थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकबाट ती युवतीसँग च्याट गर्ने समेत गर्दै आए । च्याटमा कुराकानी हुँदै गएपछि उनीहरु आपसमा भेटघाट पनि हुन थाल्यो ।
उनीहरुबिच सामान्य बोलचालसँगै बसेर चिया खान पनि थाले । जब अग्रवालले ती युवती डिभोर्सी हुन भन्ने थाहा पाए । त्यसपछि उनी युवतीसँग च्याटमा कुराकानी पनि कम गर्न थाले ।
एकाएक युवतीले गएको जेठ १५ गते बिहे गर्न भनेर प्रस्ताव पठाइन् । तर, युवाले कुनै जवाफ पनि दिएनन् । त्यसपछि घोराहीको बैंक रोडमा रहेको युवकको कपडा पसलमा ती युवती सरासर आइन् ।
बिहे गर्न नमानेपछि युवतीले एकाएक युवकमाथि पेट्रोल छर्कन थालिन् । उनले युवकको आमालाई पनि पेट्रोल छर्किन पुगिन् । अनि अन्तिममा आफै ती युवतीले पेट्रोल छर्केर आफै आत्मदाह गर्ने प्रयास गरिन् ।
घटना जिल्ला प्रहरी कार्यालय दाङमा पुग्यो । घटनामा युवक सामान्य घाइते भए । युवक दोषी हुनसक्ने भएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर राख्यो ।
तर, सोही राती नै प्रहरीले वडा प्रहरी कार्यालय घोराहीबाट जिम्मा जमानिमा युवकलाई छोड्यो । त्यसपछि ती युवकले युवतीविरुद्ध जाहेरी दिने तयारी गरे ।
प्रहीले युवतीविरुद्ध मुद्धा हाल्ने भएपछि अन्तिममा प्रहरलिे घटनाबारे कुनै अनुसन्धान नै नगरी राजनीतिक दबाबमा मिलापत्र गरेर टुङ्ग्याएको स्रोत बताउँछ ।
जिल्ला प्रहरी कार्यालय दाङ नजिकै, त्यसमा बजार क्षेत्रभित्र घटना हुँदा पनि प्रहरी निरिह बनेर न त युवतीविरुद्ध मुद्दा चलायो, न त युवकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्यो ।
प्रहरीले दबाबमा परेर यस्तो गम्भिर घटना मिलापत्र गरिदियो । यस विषयमा जिल्ला प्रहरी कार्यालय, दाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन गौतमले घटना चाहिँ भएको स्वीकार गरे ।
युवक, युवकको आमा र आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी युवतीसँगै युवकविरुद्ध कसैले जाहेरी नदिएपछि जिल्ला प्रहरीको महिला सेलमा राखेर घटना मिलापत्र गराइएको डिएसपी गौतमले बताए ।
डिएसपी गौतमले भने, जाहेरी दिने व्यक्ति कोही पनि नभएपछि मिलापत्र गरिएको हो । यसमा प्रहरीको कुनै संलग्नता छैन ।
यस विषयमा युवक अग्रवालले देशको कानुन महिलामैत्री भएकाले केही गर्न नसकेको बताए । उनले थपे, ‘यस विषयमा जाहेरी दिने कुनै अवस्था नै भएन । उल्टो ममाथि आरोप लाग्ने भएपछि वास्तै गरिन् । प्रहरी कार्यालयमा मिलापत्र भयो ।’
