काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका नौ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि उनीहरुलाई हिरासतमा राख्न अनुमति दिएको हो ।
ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हालसम्म ९ जनालाई पक्राउ गरेको छ ।
सीआईबीले सरकारी किर्ते कसुरमा १२ असारमा भाभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोतका पूर्वकर्मचारी धर्मनाथ गौतम, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका पूर्वकर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेको थियो ।
यस्तै, गत आइतबार काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो भने सोमबार रमेश कुमार पोखरेल र देवनारायण महर्जन पक्राउ परेका थिए ।
१२ गते पक्राउ परेका चार जनालाई १३ गते नै जिल्ला अदालतले हिरासतमा राख्न ७ दिनको अनुमति दिएको थियो । यस मुद्दामा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ललिता निवास जग्गा प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । अदालतले सीआईबीलाई घोटाला प्रकरणमा संलग्नविरुद्ध किर्तेका अलावा संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।
