काठमाडौं । बसन्त बहादुर कुँवरले १२ चैत २०७९ मा नेपाल प्रहरीको बागडोर सम्हाल्ने अवसर पाए । कुँवरले प्रहरीको ३० औं महानिरीक्षक (आईजी) को कमाण्ड सम्हालेको पनि एकसय दिन पूरा भएको छ ।
विगतमा उत्कृष्ट काम गरेर आफूलाई प्रमाणित गरिसकेका कुँवरसामु आईजीको रुपमा पनि त्यसैगरी प्रमाणित गरेर देखाउनुपर्ने चुनौती छँदैछ । प्रायः सय दिनलाई ‘हनिमुन पिरियड’ को रुपमा लिने गरिन्छ ।
जिम्मेवारी सम्हालेको सय दिनको समय नेतृत्वको संगठनको विषयवस्तु, ऐन कानून, संरचनागत बनावट र वस्तुस्थितिका बारेमा बुझ्नमा नै समय खर्च हुने गरेको पाइएको छ । तर, कुँवरले सय दिनमा संगठन सुधारको कुनै आभाष दिन सकेका छैनन् ।
बरु यो अवधीमा कुँवरको बढी आलोचना भएको छ । सय दिनको अवधिमा उनले आफ्नो कार्ययोजना समेत तयार पारेर सार्वजनिक गर्न सकेका छैनन् । कार्ययोजना नै बनाउन नसक्नुले उनको कार्यक्षमतामाथि नै प्रश्न उब्जिएको छ ।
सामान्तयाः आईजीले आफ्नो कार्यकालको कार्ययोजना बनाएर सार्वजनिक गर्ने गर्छन् । तर, २ वर्षका लागि आईजी नियुक्त भएका कुँवरले तीन महिनासम्म कार्ययोजना बनाउन नसक्नु दुःखद पक्ष हो । अघिल्ला आईजीहरुले आफ्नो कार्ययोजनाहरु सार्वजनिक गरेकोमा कुँवर जानकार नै छन् ।
त्यस्तै संगठनमा यसअघिका हाकिमहरुले काज सरुवाको आतंक नै मच्चाएका थिए । जसले संगठनमा ठूलो असर गरेको थियो । आईजी कुँवरले यसलाई रोक्ने अपेक्षा गरिएको थियो । तर, उनीपनि काज सरुवामा रमाउने गरेको पछिल्लो सरुवाहरुले प्रष्ट पारेको छ ।
प्रहरीको सरुवा र बढुवामा उनले चलखेल रोक्न सकेनन् । विगतमा कारबाहीमा परेकाहरु बढुवा हुँदा इमान्दार अधिकृतहरु बढुवामा छुटे ।
बढुवामा बिचौलियाले खुलेआम चलखेल गर्दा पनि त्यसमा छानबिन गराउने हिम्मत पनि नगरेपछि उनी निरिह भएको आरोप लागेको छ ।
त्यसो त प्रहरीमा नियमित सरुवा समेत हुन सकेको छैन । आईजी कुँवरले अडान लिन नसक्दा चैतमा हुनुपर्ने इन्सपेक्टर सरुवा अहिलेसम्म निस्कन सकेको छैन् । जसले आईजी कुँवरको क्षमतामाथि प्रश्न उठेको छ ।
०००
आईजी कुँवरले आफ्नो यो बीचको अवधीमा केही विकृतिहरु भने रोक्न सफल भएका छन् । करिब पाँच हजार प्रहरीलाई दरबन्दीमा पठाउन सफल भएका छन् ।
मधेसमा वर्षौंदेखि तस्करीको सेटिङ मिलाउँदै आएका घुमुवालाई २४ घन्टे रमाना दिएर पहाडी र हिमाली जिल्लामा लखेटेर शुद्धीकरणको प्रयास गरेका हुन् ।
त्यस्तै भ्रष्टाचारविरुद्ध उनी खरो रुपमा प्रस्तुत भएका छन् । पछिल्लो समय ललिता निवास प्रकरणमा अनुसन्धानको आँट गरेर उनले प्रहरीको छवी माथि उठाउन सफल भएका छन् । तर, यो मुद्दामा प्रहरीले कत्तिको गहनताका साथ अनुसन्धान गर्ने आँट गर्छ त्यो भने हेर्न बाँकी नै छ ।
प्रहरी संगठनभित्र चर्चाभन्दा काम, अवसर भन्दा चुनौतीसँग लड्न सक्ने क्षमता राख्ने कुँवरले विगतमा आर्जन गरेको उपलब्धि तथा सम्पत्ति भनेको नै आम नागरिकको सहानुभूति, सहयोग र विश्वास जित्नु नै हो । जुन विश्वासले उनलाई यो उचाइमा पुर्याएको छ ।
आईजी कुँवर भन्छन्, ‘आम सर्वसाधारणले देख्ने गरी नभएपनि अनूभूति हुने गरी काम भइरहेको छ, म सेलाएको छैन, सुस्ताएको पनि छैन’, उनी थप्छन्, ‘प्रहरी कर्मचारी सरुवा–बढुवा वृत्ति विकास र संगठनको आन्तरिक सुधारमा आमूल परिवर्तन भएको छ । भ्रष्टारमा नियन्त्रण आएको छ ।’
