काठमाडौं । एक महिलालाई ‘म तिम्रो फिगरको फ्यान’ भन्दै पठाएको म्यासेज सार्वजनिक भएपछि नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) सुवास तिमिल्सिना विवादमा तानिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएपछि सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक भएको हो ।
‘अब बोल्ने’ नामक ट्विटर एकाउण्टबाट प्रहरी मुख्यालयसहित केही सञ्चारमाध्यमलाई मेन्सन गर्दै सार्वजनिक गरिएको ‘म्यासेज’का कारण विवादमा तानिएका तिमिल्सिनाले म्यासेजमा ती महिलालाई आपत्तिजनक म्यासेज पठाएको देख्न सकिन्छ ।
‘नेपाल प्रहरीकै इन्स्पेक्टरले असुरक्षाको वातावरण सिर्जना गरिरहेका छन्’ ती महिलाले सामाजिक सञ्जालमा लेखेकी छन् ।
म्यासेजमा इन्स्पेक्टर तिमिल्सिनाले महिलालाई प्रिय भनेर सम्बोधन गर्दै फोटो पठाउन भनेका छन् । महिलाले कस्तो फोटो भनेर प्रश्न सोधेकी छन् । त्यसपछि उनले आफूलाई विश्वास गर्न भनेका छन् ।
महिलाले कहिल्यै नभेटेको मान्छेसँग आफूलाई कुरा गर्न अप्ठ्यारो लाग्ने भनेकी छन् । रातको ९ बजेर ५७ मिनेट जाँदा भएको संवादमा निरीक्षक तिम्सिनाले भनेका छन्,‘ के तिमीलाई थाहा छ ? म तिम्रो शरीरको प्रशंसक हुँ ।’
सामाजिक सञ्जालमा इन्स्पेक्टरको यो संवाद अहिले ‘भाइरल’भएको छ । तिमिल्सिनाले आपत्तिजनक म्यासेज पठाएको भन्दै कास्की प्रहरीले छानबिन अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालको संयोजकत्वमा इन्स्पेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको छानबिन समिति गठन गरेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए ।
‘इन्स्पेक्टरले म्यासेज पठाएको हो कि होइन, हामी साइबर ल्याबबाटै छानबिन गर्छौं,’ एसपी केसीले भने, ‘छानबिनबाट दोषी देखिए कारबाही अघि बढ्छ ।’
यसबारे नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले सामाजिक सञ्जालमा इन्स्पेक्टरलाई जोडेर आएको विषयमा जानकारी भएको बताए। ‘यो घटनाबारे सत्यतथ्य बुझेर छानबिन गर्न निर्देशन दिइसकिएको छ’ कडायतले भने ।
