काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी गरे ।
सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिरहेको बताए ।
राम्रो काम गरेबापत आफ्नो पार्टीलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले ‘देश समृद्धि होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहेको दाबी गरे ।
ओलीले भने, ‘मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले रामो भनोस्, राम्रो नभनोस् । तर राम्रो काम चाहिँ गर्नैपर्छ । राम्रो काम अनवरत गरिरहनु पर्छ । गर्दै जानुपर्छ । कसले के भन्यो भन्ने कुरा होइन ।’
आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको ओलीको भनाई थियो ।
