काठमाडौं । बागमती प्रदेशकी एक पूर्वमन्त्रीसँग जोडिएको भनिएको धम्कीयुक्त अश्लील अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा बाँके–३ का सांसद खगेन्द्र सुनार दाङमा जारी पार्टीको पूर्वनिर्धारित कार्यक्रम बीचमै छाडेर काठमाडौं फर्किएका छन्।
पार्टीले सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएपछि सुनार दाङबाट काठमाडौं फर्किएका हुन्। यद्यपि, सुनारले भने उक्त अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारिएको दाबी गरेका छन्। दाङबाटै भिडियो सार्वजनिक गर्दै उनले केही व्यक्तिलाई उक्साएर आफूविरुद्ध षड्यन्त्र गरिएको आरोपसमेत लगाएका छन्।
रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै सर्वेक्षणका लागि सुनारसहित सांसद नगेन्द्रकुमार गुप्ता र सुष्मा स्वर्णकार (डिम्पल) लाई दाङ खटाएको थियो। आइतबार बेलुकी तुलसीपुर पुगेको टोलीले पहिलो दिन पश्चिम दाङका चार पालिकामा सर्वेक्षण सम्पन्न गरेको थियो।
निर्धारित कार्यतालिकाअनुसार मंगलबार घोराहीसहितका क्षेत्रमा छलफल गर्ने कार्यक्रम थियो। तर, सुनार काठमाडौं फर्किएपछि अन्य दुई सांसदले मात्रै बंगलाचुली गाउँपालिकामा पुगेर कार्यक्रमलाई निरन्तरता दिएका छन्।
रास्वपा दाङका सभापति किरण खनालले मंगलबार बिहान ९ बजे नै सांसद सुनारलाई बिदाइ गरिएको जानकारी दिए। सुनार सहभागी नहुने भए पनि अन्य कार्यक्रम भने यथावत् रहेको उनले बताए।
विवादित अडिओ सार्वजनिक भएपछि रास्वपाका महामन्त्री विपीन आचार्यले विज्ञप्ति जारी गर्दै घटनाबारे पार्टीको अनुशासन आयोगले छानबिन गर्ने जनाएका थिए। छानबिन प्रतिवेदन नआएसम्म सुनारलाई पार्टी नेता तथा सांसदको हैसियतमा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको पार्टीले जनाएको थियो।
सुनारले अडिओ एआईबाट तयार पारिएको दाबी गर्दै आफूविरुद्ध षड्यन्त्र भएको आरोप लगाए पनि उक्त दाबीको स्वतन्त्र पुष्टि भएको विवरण भने सार्वजनिक भएको छैन। घटनाबारे पार्टीको छानबिनबाट आउने निष्कर्षले अबको प्रक्रिया निर्धारण गर्नेछ।

