काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल जस्तो भूराजनीतिक अवस्था एवम् सामाजिक सांस्कृतिक परिवेशमा हिन्दुराष्ट्र अनिवार्य आवश्यकता भएको बताएका छन् ।
आज पार्टीको अनुसन्धान तथा योजना विभागद्वारा काठमाडौंमा आयोजित ‘हिन्दुराष्ट्र’ :- ‘अवधारणा र औचित्य’ बिषयक अन्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै थापाले हिन्दुराष्ट्रको अवधारणालाई सहि अर्थमा बुझ्नु र बुझाउन जरुरी भएको चर्चा गरे ।
अज्ञानतामा आधारित ‘प्रोपोगन्डा’ तथा बाह्य शक्ति र उग्रवामपन्थीको षड्यन्त्रबाट मुक्त हुन जरुरी भएको भएको भन्दै थापाले हिन्दुराष्ट्र नेपालको गौरव भएको समेत बताए ।
हिन्दु धर्म प्राचीन र विविधतामा आधारित आध्यात्मिक मान्यता भएको भन्दै थापाले हिन्दुत्व सांस्कृतिक राष्ट्रवादको अभिव्यक्ति भएको उनले दाबी गरे ।
उनले धार्मिक राज्य नभई प्राचीन सभ्यता र सम्पदाको रक्षा आफूहरुको प्रमुख ध्येय भएको स्पष्ट गर्दै वैदिक दर्शन, सनातन धर्म ,संस्कृति र परम्पराको धरातलमा ‘राष्ट्र निर्माण’ हुनुपर्नेमा जोड दिए ।
२०६२/६३ को आन्दोलनपछि गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताबारे गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले आपत्ती समेत प्रकट गरे ।
उनले संगठित र योजनाबद्ध रुपमा भैइरहेको धर्म परिवर्तनले मुकुकमा ठुलो समस्या निम्तिने समेत चेतावनी दिए ।
थापाको कार्यपत्रमाथि प्रा.डा. राजाराम सुवेदी, डा. शास्त्रदत्त पन्त, बरिष्ठ पत्रकार तिर्थ कोइराला, प्रा.डा. गोपाल पोखरेल, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई, डा. बिष्णु भण्डारीलगायतले टिप्पणी गरेका थिए ।
