बुटवल । रुपन्देहीको कालिदह नाकाबाट बरामद भएको करिब दुई किलो सुन प्रकरण अनुसन्धानमा बुटवलका सुन व्यवसायीको समेत संलग्नता भेटिएको छ ।
सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिका बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति सुनचाँदी पसलको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
उक्त सुन प्रकरणमा बुटवल अमरपथस्थित बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलका सञ्चालकको संलग्नता देखिएपछि ती पसल सिल गरेर अनुसन्धान अगाडि बढाएको छ ।
‘सुन बरामदका विषयमा को कसको संलग्नताका विषयमा अनुसन्धान जारी छ । यसबारेमा सबै कुरा अहिलै भन्न सकिँदैन,’ भैरहवा भन्सार कार्यालयका प्रवक्ता युवराज भट्टराईले भने , ‘पसललाई शिल गरी अनुसन्धान भइरहेको छ, पछि यसबारे जानकारी आउँछ ।’
गत १० असारमा रुपन्देहीको कालिदह नाका हुँदै भारत लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै दुई किलोको शंकास्पद वस्तु बरामद गरेको थियो ।
अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु एक केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो । उक्त सुन बा१२च ३८२० नम्बरको मारुती सुजुकी कारमा भेटिएको हो ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले चेकजाँच गर्दा इँटा आकारका दुई थान सुन शङ्कास्पद वस्तु बरामद गरेर भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो ।
कालीदह नाकामा सुनसहित पक्राउ परेका दाङ घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरी हुन् । उनलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
करिब रु दुई करोड मूल्यको सुन बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने कानुनी व्यवस्थाअनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
