काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्षको लागि अन्जन चौलागाईंले उम्मेद्वारी दिएका छन् । चौलागाईं हालका महासचिव समेत हुन् ।
आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष पदका उमेदवार रहेका चौलागाईंले एनएनआरएनमा आएको एकरुपताले फुटेर हैन जुटेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएको बताए ।
झण्डै १ वर्षसम्म कायम रहेको एनआरएनए विवाद समाधान भएर एकरुपता आएपछि उनले सम्पुर्ण नेपालीहरुमा आशाको दियो जगाएको जानकारी दिए ।
एनआरएनए राजनीति मुक्त हुनुपर्नेमा जोड दिनुपर्ने बताउँदै चौलागाईंले एनआरएनएमा राजनैतिक प्रभाव व्याप्त रहेकोले यसलाई अन्त्य गर्न पनि आफ्नो बरिष्ठ उपाध्यक्ष पदका लागी उमेदवारी रहेको बताए ।
बहालवाला महासचिव रहेका चौलागाईले आफ्नो अहिलेसम्मको कार्यकाल निकै फलदायी रहेको र उल्लेख्य प्रभावकारी कार्यहरु गरेको दावी गरेका छन् ।
गैरआवासिय नेपाली संघ अमेरिका (एनआरएनए एनसीसी युएसए) संस्थालाई गति दिन र अहिलेसम्म भैरहेका सहि कार्यलाई प्रोत्साहन दिँदै थप गतिशिल बनाउन पनि आफूले महासचिवपछि वरिष्ठ उपाध्यक्षका लागि उमेदवारी दिएको उनले बताए ।
चौलागाईंले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा आकांक्षी तथा आफ्ना प्रतिष्पर्धीहरु धेरै भएपनि आम गैरआवासिय सदस्यहरुले आफ्नो कार्यक्षमता, दक्षता, लगनशिलता र योगदान सबै बुझेकोले आफ्नो विजयी सुनिश्चीत रहेको दाबीसमेत गरे ।
