काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले स्व. गिरिजाप्रसाद कोइरालाजस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता बिरलै मात्र भेटिने बताएका छन् ।
सोमबार गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो कुरा बताएका हुन् ।
स्व. गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निर्णय क्षमता सबै नेतामा नहुने दाबी गर्दै पूर्वमहामन्त्री कोइरालाले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन । उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो ।’
गिरिजाप्रसाद कोइरालाकै कारण दोस्रो जनआन्दोलन सफल भएको उनको दाबी छ । ‘दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो,’ उनले भने ।
