बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जना प्रहरीलाई कारबाही गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतबाट २ जना थुनुवा भागेपछि आइतबार ३ जना प्रहरीलाई कारबाही गरिएको हो ।
जिल्ला प्रहरी प्रमुख उपरिक्षक (एसपी) सुधीरराज शाहीले गत शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुईजना थुनुवा भागेको घटनामा प्रहरीको कमजोरी देखिएपछि ३ प्रहरीलाई कारबाहीस्वरूप निलम्बन गरेको बताए ।
यस्तै ड्युटी अफिसरको रूपमा रहेका प्रहरी सहायक निरीक्षक (असई)लाई पनि निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सिफारिस गरेको एसपी शाहीले बताए ।
‘दुई जवानलाई आजै निलम्बित गरेका छौं,’ एसपी शाहीले भने, ‘ड्युटी अफिसरलाई निलम्बन गर्न प्रदेश प्रहरी कार्यालय समक्ष सिफारिस गरेका छौं ।’
प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नै निलम्बन गर्ने अधिकार छ । असईको हकमा प्रदेश प्रहरी कार्यालयले गर्नुपर्ने भएकाले सिफारिस गरेको हो ।
ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा असार ८ गते पक्राउ परेका मधुवन-८ का १९ वर्षीय अजय नेपाली र २० वर्षीय राजा नेपाली भागेका थिए ।
एसपी शाहीले बिहीबार राति कार्यालयमा बत्ती गएपछि ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई उज्यालो ठाउँमा खाना खुवाउन बाहिर निकालेका थिए ।
हिरासत कक्ष खोलेर ती प्रहरीले चाबीको झुप्पा भने त्यहीँ भुलेका थिए । ड्युटीमा खटिएको प्रहरीले भुलेको चाबी अजय र राजाले चोरेका थिए । शुक्रबार बिहान प्रहरीको ड्युटी परिवर्तन भएको मौका पारेर उनीहरूले चाबीले ताला खोलेर हिरासतबाट भागेका थिए ।
प्रहरीले शुक्रबार बेलझुण्डी सामुदायिक वनबाट शुक्रबार मध्यान्ह १२:५०मा अजयलाई पक्राउ गरेको थियो । यस्तै डाँडे सामुदायिक वनबाट शनिबार बिहान ८:४० बजे राजालाई पक्राउ गरेको हो ।
