काठमाडौं । नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईलाई तीन विकेटले पराजित गरेको छ ।
योसँगै नेपालले विश्वकप छनोटको अन्तिम खेल मंगलबार टेस्ट टोली आयरल्यान्डसँग सातौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र ऐरीको उत्कृष्ट ब्याटिङ थियो ।
दीपेन्द्र ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे । त्यस्तै सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रनमा नट आउट रहे ।
आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले १५ ओभरमा ७९ रनको अविजित साझेदारी गर्दै खेल सकाए । त्यस्तै नेपाललाई सातौं विकेटका लागि दीपेन्द्रले गुलशन झासँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । यूएईका लागि कप्तान भृतिया अरविन्दले सर्वाधिक ४४ रनको योगदान दिए ।
यसअघि नै विश्वकप छनोटको होडबाट बाहिरिइसकेको नेपालले वरीयताका लागि यूएईसँग भिडन्त गरेको हो । अब नेपालले आगामी मंगलबार आयरल्यान्डसँग सातौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ ।
उक्त खेलमा विजयी हुने टोलीले सातौँ र पराजित हुने टोलीले आठौँ वरीयता प्राप्त गर्नेछन् । यसैगरी यूएईले आगामी बिहीबार अमेरिकासँग नवौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ ।
उक्त खेलमा विजयी हुने टोलीले नवौँ र पराजित हुने टोलीले १०औँ वरीयता प्राप्त गर्नेछन् । विश्वकप छनोट प्रतियोगिता जिम्बाब्वेमा भइरहेको छ ।
