काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजी)लाई प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार छ । तर, आईजी बसन्त बहादुर कुँवरले प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा निकाल्न सकिरहेका छैनन् ।
लामो समयदेखि एउटै कार्यालयमा कार्यरत इन्स्पेक्टरहरुको अवधी पुगेपनि अत्याधिक चलखेलका कारण सरुवा सूची निकाल्न नसकेपछि आईजी कुँवरको आलोचना भएको छ । गत फागुनमै हुनुपर्ने सरुवा अझै हुन नसकेको हो ।
स्रोतकाअनुसार इन्सपेक्टर सरुवामा आईजी कुँवरमाथि अत्याधिक दबाब छ । एकथरीले विगतमा सरुवा मापदण्डविपरीत काजमा गएकालाई त्यही राख्न दबाब दिइरहेका छन् । तर, मापदण्डअनुसार उनीहरुलाई त्यहाँ राख्न मिल्दैन । सोही कारण सरुवा निस्कन नसकेको हो ।
सयौंको संख्यामा इन्स्पेक्टरहरु सरुवाको पर्खाइमा छन् । तर, गृह मन्त्रालयको ‘ग्रिन सिग्नल’ कुरेर बसेको प्रहरी प्रधान कार्यालयले सरुवा गर्न सकेको छैन । स्रोतका अनुसार गृह मन्त्रालयले हस्तक्षेप गरेपछि सरुवा रोकिएको हो ।
नियमित सरुवा तालिकाअनुसार इन्स्पेक्टरहरूको गत फागुनमा नै सरुवा हुनुपर्ने थियो । तर, चार महिना नाघिसक्दा पनि प्रहरी नेतृत्वले सरुवा निकाल्न नसकेपछि कुँवरको चर्को आलोचना भएको हो । शक्तिकेन्द्रको दबाब र चलखेलका कारण नियमित सरुवा निस्कन नसकेको स्रोतको भनाइ छ ।
गत फागुनमा प्रहरी प्रधान कार्यालयले सयभन्दा धेरै इन्स्पेक्टरको काज सरुवा निकालेको थियो । जतिबेला आईजी थिए धीरजप्रताप सिंह । सिंहले मनलाग्दी तरिकाले इन्सपेक्टरहरुको काज सरुवा गरेका थिए ।
मापदण्डविपरीत खटिएकाहरू धेरैजसो शक्तिकेन्द्रबाट सिफारिस गर्न लगाएर इन्चार्ज गएका थिए । अहिले नियमित सरुवामा उनीहरूलाई कार्यालय प्रमुखबाट हटाउनुपर्ने भएपछि सरुवाको निर्णय हुन नसकेको बताइन्छ ।
यसरी नियमित सरुवा हुन नसक्दा एकातर्फ केही प्रहरी अधिकृतहरू १६ महिनादेखि नियमित इन्चार्जमा छन् भने अन्य भने कमान्डको अवसरबाट वञ्चित भएका छन् । यस्तो प्रवृत्तिले पुलिसिङलाई कमजोर बनाउने प्रहरी अधिकारीहरू बताउँछन् ।
कुँवर पनि काजमा रमाउँदै
प्रहरी संगठनमा काज सरुवाको विकृति रोक्नुपर्ने भन्दै भाषण गर्ने आईजी कुँवर पछिल्लो समय बिचौलियाहरुको दबाबपछि आफैँ काज सरुवातर्फ लागेका छन् । पछिल्लो समय कुँवर नियमित सरुवा रोकेर धमाधम काज सरुवा निकाल्न व्यस्त छन् ।
गत साता ६ इन्सपेक्टरलाई विभिन्न कार्यालयमा इन्चार्जका रुपमा काजमा खटाइएको छ । इन्सपेक्टर लक्ष्मण ओलीलाई इप्रका कृष्णनगर, कपिलवस्तु, सन्तोष न्यौपानेलाई प्रहरी प्रभाग बलम्बु, काठमाडौं, दाताराम अधिकारीलाई इप्रका सानोपोखरा, मकवानपुर काज पठाइएको छ ।
यस्तै इन्स्पेक्टरहरु धनबहादुर बोहरालाई तनहुँस्थित प्रहरी विद्यालय, शुभेश अधिकारीलाई इप्रका कल्याणपुर सप्तरी र दीपेन्द्र श्रेष्ठलाई इप्रका गीतानगर चितवनमा काजमा खटाइएको छ ।
गत साता नै सरुवाको तयारी भएपनि मानवस्रोत विभागका एआइजी सन्दीप भण्डारी विदेश गएकाले निर्णय हुने नसकेको प्रधान कार्यालय स्रोत बताउँछ । अर्काेतर्फ गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणमा गएका थिए । गृहमन्त्री तथा एआईजी स्वदेश फर्किसकेका छन् ।
सम्भवतः अब छिट्टै सरुवा निस्किनेछ ।
