काठमाडौं । जिल्ला प्रहरी कार्यालय जुम्लाले ‘लागूऔषध विरुद्ध विशेष अभियान’ सुरु गरेको छ ।
समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना तथा विभिन्न संघ संस्थाको सहयोगमा उक्त अभियानको सुरुवात भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जिल्लामा बढ्दै गएको लागूऔषध दुर्व्यसनीलाई रोक्नको लागि सबै सरोकारवाला पक्षहरूले समन्वयात्मक ढंगबाट काम गर्नुपर्नेमा जोड दिए ।
लागूऔषध सम्बन्धि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, सिमा नाकाहरूमा चेकजाँचमा कडाई गर्नुपर्ने र समय समयमा यस्ता अभियानहरू सञ्चालन गर्दा सकारात्मक सन्देश जाने उनले बताए ।
उक्त अभियान दुई हप्तासम्म चल्नेछ । अभियानमा विभिन्न र्याली स्थानीय झाँकी र ब्यानर पर्दशन, ‘लागूऔषध दुर्व्यसनमा लाग्ने छैन’ भन्ने हस्ताक्षर संकलन समेत गरिएको छ ।
अभियानमा चन्दननाथ नगरपालिका प्रमुख राजु सिंह कठायत, उपप्रमुख, जिल्लाका सातवटै पालिका प्रमुख र उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक एंव सहप्रध्यापक, नम्बर २४ बाहिनी अड्डा जुम्लाका सहायक रथी, जिल्ला सुरक्षा समितिलगायत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरु, राजनैतिक दलका जनप्रतिनिधिहरु, नागरिक समाजका अध्यक्ष, नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीहरु, सञ्चारकर्मीहरु, विभिन्न विद्यालायका शिक्षक, शिक्षिका, विद्यार्थिहरु, बुद्धिजिवी, समाजसेवी र सर्वसाधारण गरी अन्दाजी ३५० जनाको उपस्थिति रहेको थियो ।
त्यस्तै लागूऔषध दुर्व्यसन ओसारपसार र कारोबारमा लाग्ने छैन र लागूऔषध दुर्व्यसनी, सेवन ओसारपसार गर्ने गराउनेलाई कानुन बमोजिम कारबाही गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) भीम ढकालले बताए ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु आ.व. २०७९/०८० को हालसम्म १०८ मुद्दा दर्ता भएका छन् भने १८५ जना पुरुष र १५ जना महिला गरी जम्मा २०० जना पक्राउ गरी मुद्दा चलाइएको छ ।
त्यसैगरी प्रदेशभरी चालु आ.व.मा नै हालसम्म ६७२ ग्राम गाँजा, १६३ ग्राम ९८६ मिलिग्राम चरेश, २०० ग्राम ४२२ मिलिग्राम ब्राउन सुगर , कोरोक्स १७ सि.सि., १६८४ ट्याबलेट ट्रामाडोल बरामद गरीएको छ ।
मुद्दा दर्ता, मानिस पक्राउ तथा बरामदीको यो बढ्दो परिमाण रहेको प्रदेश प्रहरी कार्यालयको दाबी छ । यस्तो बढ्दै गएको लागूऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न कर्णाली प्रदेश प्रहरीले विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको हो ।
