चितवन । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिदो परिवेश तथा चुनौतिलाई सामना गर्न आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्ष रूपमा नागरिक सेवामा लाग्नुपर्ने बताएका छन् ।
नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू लगायत सम्पूर्ण प्रशिक्षकलाई शनिबार निर्देशन दिँदै आईजीपी कुँवरले हरेक कमाण्डर सबै भन्दा पहिले आफै नमूनाको रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
प्रहरी कर्मचारीहरूमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरिय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीबृद्धि हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘व्यावसायिक स्वार्थका लागि निष्ठा, दृढता र सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने आजको आवश्यकता र नागरिक चाहना पनि हो ।’
नेपाल प्रहरीका प्रशिक्षण प्रदायक संस्थाहरुले नव आगन्तुकहरुलाई असल र व्यावसायिक संस्कार र दृष्टिकोण प्रदान गर्नुपर्ने आईजीपी कुँवरको बुझाइ छ ।

आन्तरिक शुद्धिकरणमा शून्य सहनशिलताको नीतिलाई अंगिकार गर्दै जनमुखी र व्यवसायिक दक्षता हासिल गर्नेतर्फ सबै प्रहरी कर्मचारीहरू अग्रसर हुनुपर्ने उनले उल्लेख गरे ।
नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद ज्ञापन गरेका उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक निशान थापाले शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिक्षालय परिसरमा वृक्षरोपण समेत गरेका थिए ।
