एजेन्सी – आइसिसी विश्वकप छनोट २०२३ मा खराब प्रदर्शनसँगै चार पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोटबाटै बाहिरिएको छ । वेस्टइन्डिज इतिहासमै पहिलो पटक विश्वकपमा पुग्न नसकेको हो ।
सुपर सिक्समा आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएसँगै समान दुई पटक एकदिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिज आगमी भारतमा हुने एकदिवसीय विश्वकपको लागि छनोट हुन नसक्ने भएको हो ।
जितको लागि १ सय ८२ रनको मध्यम लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डले वेस्टइन्डिजलाई ओडिआईमा पहिलो पटक हराएको हो ।
स्कटल्यान्डको जितमा विकेटकिपर म्याथ्यु क्रस १ सय ७ बलमा ७ चौकासहित ७४ रनमा नट आउट रहे । रिची बेरिंग्टन १४ बलमा २ चौकासहित १३ रनमा नटआउट रहे ।
ब्रेन्डन म्याकमुलेन १ सय ६ बलमा ८ चौका र १ छक्कासहित ६९ रनमा आउट भए । महत्वपूर्ण तीन विकेट लिँदै सानदार अलराउन्ड प्रदर्शन गरेका म्याकमुलेननै खेलको प्लेयर अफ द म्याच चुनिए ।
ओपनर क्रिस म्याक ब्राइड शून्यमै क्याच आउट भएका थिए । तर दोस्रो विकेटका लागि म्याकमुलेन र क्रसले १ सय २५ रनको शतकीय साझेदारी गरेपछि वेस्टइन्डिजको जितको सम्भावना समाप्त जस्तै भएको थियो । जर्ज मुन्शे ३३ बलमा १ चौकासहित १८ रनमा आउट भए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४३.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो ।
वेस्टइन्डिजका जेसन होल्डरले ७९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४५ रनको योगदान दिए । रोमारियो शेफर्डले ४३ बलमा ५ चौकासहित ३६ रन बनाए । यी दुई बाहेक अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन ।
सुपर सिक्सको यस खेल जितेर स्कटल्यान्डले विश्वकप पुग्ने आशा जीवितै राखेको छ । जिम्बावे र श्रीलंकाको ६–६ तथा स्कटल्यान्डको ४ अंक छ । नेदरल्यान्ड्ससँग २ अंक छ भने वेस्ट इन्डिज र ओमानको कुनै अंक छैन । शीर्ष दुई टोली विश्वकपमा पुग्ने प्रावधान छ ।
