काठमाडौं । दाङमा तल्लो जात भनेर कोठा भाडामा बस्ने व्यक्तिलाई विभेद गरेको आरोपमा घरबेटी पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका, १७ का ताराप्रसाद पोखरेललाई पक्राउ गरेको हो ।
पोखरेलले आफ्नो घरमा डेरामा बसेका अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आधारमा विभेद गर्दै कोठा छाड्न दबाव दिएपछि प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
सुरुमा कोठा भाडामा दिएका पोखरेलले शुक्रबार मात्र उनीहरु दलित भएको थाहा पाएका थिए । त्यसपछि उनीहरुलाई पोखरेलले कोठा छाड्न दबाब दिएका हुन् ।
दलित भन्दै विभेद गरेपछि आफुहरुले प्रहरी कार्यालयमा उजुरी दिएको परियारले बताए । उजुरीपछि पोखरेललाई नियन्त्रणमा लिइएको डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
पीडित पक्षको जाहेरी आएमा थप अनुसन्धान सुरु हुने डिएसपी गौतमले बताए । परियार र विश्वकर्मामाथि भएको घटनाको बिरोध जनाउँदै स्थानीयहरुले समेत दोषीमाथि कारबाहीको माग गरेका छन् ।
