काठमाडौं । विमानस्थलका साना सुरक्षा त्रुटीले सयौं यात्रुको जीवन नै धरापमा पर्नसक्छ । राष्ट्रिय छविमा गम्भीर असर पर्न सक्छ । विमानस्थल राष्ट्रिय सुरक्षाका संवेदनशील क्षेत्र पनि हो । विमानस्थल परिसरमा हुने सानातिना सुरक्षा कमजोरी आफैँमा निकै गम्भीर चिन्ताको विषय हो ।
त्यसैले राष्ट्रिय या अन्तर्राष्ट्रिय विमानस्थलको उचित व्यवस्थापनसँगै चौतर्फी क्षेत्र राम्रोसँग तारबार हुन आवश्यक छ । सँगै केही दुरीको अन्तरालमा ठाउँ–ठाउँमा सुरक्षा पोस्टिङ खडा गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने हुन्छ । जसकारण विमानस्थलमा आपराधिक क्रियाकलाप हुन सक्दैन । यसको मनिटर विमानस्थल प्रमुखले गर्नुपर्ने हुन्छ ।
तर, चितवनको भरतपुर विमानस्थलको अवस्था दयनिय देखिन्छ । देशकै सर्वोत्कृष्ट महानगरपालिकाभित्र अवस्थित विमानस्थल सुरक्षाको दृष्टिकोणले चिन्ताको विषय बनिरहँदा विमानस्थल प्रमुख रमिते बनेका छन् । दिनहुँ हजारौंको संख्यामा सवारी गुड्ने सडक किनारबाट विमानस्थलमा सहजै प्रवेश गर्न सकिन्छ ।
तपाईं कुनैदिन त्यो बाटो आवतजावत गर्ने अवसर मिलेमा हेर्नुहोला विमानस्थलको अवस्था कस्तो छ ? न तारबार गरिएको छ ? न सुरक्षा पोष्ट नै खडा गरिएको छ । जसले गर्दा सुरक्षा चुनौती थपिदिएको छ । कार्यालय प्रमुखको वेवास्ताको कारण विमानस्थल अलपत्र परेको सोही कार्यालयकै कर्मचारीहरु बताउँछन् ।
भरतपुर विमानस्थल सन् १९६१ देखि शुरू भएको हो । हाल मध्य नेपालको प्रमुख यो विमानस्थल बेला बेलामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा समेत हुने गर्छ । यो विमानस्थल भरतपुर नगरको मुटु चौबिसकोठीको पश्चिम क्षेत्रमा महेन्द्र राजमार्ग तथा कृष्णपुरको बिच हाकिम चोकदेखि सैन्य ब्यारेकसम्म उत्तर दक्षिण फैलिएको छ ।
विमानस्थलको जतिपनि भूभाग हाइवेले छुन्छ सबै ठाउँको अवस्था दयनिय नै छ । यस्तो संवेदनशील क्षेत्रको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान नपुग्नु वा वेवास्ता गर्नु भनेको यात्रुहरुको जीवनसँग खेलवाड गर्नु हो । उक्त क्षेत्रका स्थानीयहरुका अनुसार यो विमानस्थलको यस्तो अवस्था भएको २÷३ वर्ष भइसक्यो ।
त्यतिमात्र होइन भरतपुर विमानस्थल उत्रने विदेशीलाई आसपास देखिने धुवाँधुलोले समेत नकारात्मक छाप पारेको छ । बाह्रैमास यात्रुको भीड देखिने विमानस्थलमा सोचे जस्तो सुरक्षा व्यवस्था चुस्त छैन । त्यस्तै लुकिछिपी स्थानीय बासिन्दाले रातको समयमा फोहोर विमानस्थलभित्रै फ्याँक्ने समेत गरेको पाइएको छ ।
हाल भरतपुर विमानस्थलका प्रमुख छन् दीपक विश्वकर्मा । विमानस्थललाई चुस्त, प्रभावकारी र भरपर्दो बनाउँदै संवेदनशील विषयसँग जोडिएको हुँदा किन अलपत्र छाडिएको भनेर विमानस्थल प्रमुख विश्वकर्मालाई प्रश्न गर्दा सडक मर्मतको कारणले गर्दा तारबार नगरिएको बताए ।
‘सडकको काम सकिएको छैन् । अझै केही समय फिनिसिङ हुन लाग्ने बुझिएको छ । त्यसपछि हामीले गर्ने कामले निरन्तरता पाउनेछ,’ विमानस्थल प्रमुख विश्वकर्माले स्कुपखबरसँगको कुराकानीमा भने, ‘तारबार गर्नेदेखि अन्य व्यवस्थापनको काममा हेड अफिसले नै आएर सर्भे गरिसकेको अवस्था छ ।’

यत्तिका दिनसम्म के हेरेर बस्नुभएको थियो ? यसअघि पनि तारबार गरेर मान्छे सहजै प्रवेशको लागि बन्द किन नगर्नुभएको भन्ने प्रश्नमा प्रमुख विश्वकर्माले विमानस्थलको भाग धेरै गहिरो रहेको र सडकबाट देख्नमात्र होचो देखिएको भन्दै पन्छिन खोजे । बरु उनले कोही व्यक्ति हाम्फलेर जान नसक्ने बताउँदै भित्र हाम्फालेको अवस्थामा लड्ने बताए ।
यस विषयमा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । १० नम्बर वडाभित्र पर्ने विमानस्थलमा दिनहुँ सयौंको संख्यामा भीआईपीहरुको आवातजावत हुने गर्छ ।
केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारबारबाट एक व्यक्ति अनाधिकृत रुपमा पसेर जहाजमा पुगेको खबरले सुरक्षा निकायहरुमाथि गम्भीर प्रश्न उठ्यो । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र पसेर उक्त व्यक्ति कसरी जहाजसम्म पुगे ? धेरैले सुरक्षा व्यवस्थापन राम्रो नभएकाले त्यस्तो अवस्था उत्पन्न भएको बुझेका थिए ।
जतिबेला विमानस्थलका सुरक्षा कमाण्डरको त्रुटीको कारण ती व्यक्ति विमानस्थलजस्तो संवेदनशील ठाउँमा प्रवेश गरेर जहाजमा पुगेको नेपाल वायु सेवा निगमको भनाइ छ । आयल निगमको डिपो रहेको क्षेत्रको तारबार नाघेर रौतहटका हस्पम आलम कतार उड्न लागेको नेपाल एयरलाइन्सको जहाजभित्रै पुगेका थिए ।
यति सहजै ती व्यक्ति विमानस्थल परिसरमा प्रवेश गर्नुको कारण सुरक्षाको कमजोरी देखाइएको थियो । त्यसैले संसारका सबै जसो विमानस्थलको सुरक्षा निकै सुदृढ एवं चुस्तदुरुस्त हुनुपर्ने मान्यता छ । सुदृढ सुरक्षा व्यवस्थालाई विमानस्थलको एक प्रमुख पूर्वाधारका रूपमा समेत लिने गरिन्छ । विमानस्थलको व्यवस्थापन कमजोर भएपछि सुरक्षा चिन्ता समेत बढ्नेछ ।
