काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणपछि चर्चामा छ बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरण । गत मंगलबार सोही प्रकरणमा केही भिआईपीहरु पक्राउ परे, अनि चर्चाको विषय बनेको हो ।
जग्गा हिनामिना प्रकरणमा २ वर्षअघि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ दुई करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । तर, गत मंगलबार उनै गुरुङ एकाएक पक्राउ परे । त्यसपछि थाहा भयो ललिता निवास जग्गा प्रकरणको फाइल पुनः खोलिएछ ।
देशका ठूलाठूला व्यक्तिहरुसँग राम्रै उठबस रहेका गुरुङ पक्राउ पर्नुले धेरै प्रश्नहरु उब्जिएको छ । जबकी गुरुङको प्रधानमन्त्री पुष्पकमल दाहालसँगसमेत राम्रै सम्बन्ध रहेको बताइन्थ्यो । त्यतिमात्र नभएर भाटभटेनीमा दाहालको पनि लगानी रहेको सुनिएको थियो ।
तर, गुरुङलाई पक्राउ गर्न प्रधानमन्त्री दाहालले नै निर्देशन दिएको स्रोत बताउँछ । राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी भए पनि प्रधानमन्त्री दाहालको निर्देशनमा उक्त फाइल खोलिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार आरोपीहरू पक्राउ पर्नु एक दिनअघि गत सोमबार प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई बालुवाटार डाकेर सोधपुछ गरेका थिए । जतिबेला प्रधानमन्त्री दाहाल र आईजीपी कुँवरबीच झन्डै एक घन्टा सघन छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालले ललिता निवास जग्गा प्रकरणको फाइललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आईजीपी कुँवरसँग चासो राखेका थिए । प्रधानमन्त्रीले चासो देखाएपछि आईजीपी कुँवर उक्त प्रकरणको फाइल बोकेर प्रधानमन्त्री निवास पुगेका थिए ।
प्रधानमन्त्रीले ललिता निवास प्रकरणमा मुछिएकालाई पक्राउ गर्दा त्यसले निम्त्याउनसक्ने सम्भावित परिणामका बारेमा समेत आईजीपी कुँवरसँग छलफल गरेका थिए । आईजीपीले सबै कुरा बताएपछि र प्रधानमन्त्रीले निर्देशन दिएपछि प्रहरीले जग्गा प्रकरणका व्यक्तिहरुलाई पक्राउ गर्न थालेको हो ।
जसमा गुरूङसहित तत्कालीन भक्तपुर मालपोल कार्यालयका कर्मचारी सुधीर शाह, मालपोत कार्यालयकै कर्मचारीहरू धर्मप्रसाद गौतम, गोपाल कार्की, सुरेन्द्र कपाली, कलाधर देउजा र तत्कालीन भूमि सुधार मन्त्रालयका उपसचिव हुपेन्द्रमणी केसी पक्राउ परेका छन् ।
पक्राउ परेका कपाली, केसी र देउजाले काठमाडौं जिल्ला अदालतबाट स्टेअडर लिइसकेकाले प्रहरीले उनीहरूलाई कागजात गराएर छाडेको छ । बाँकी चार जनालाई थप अनुसन्धानका लागि अदालतले म्याद थपेको छ ।
विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो ।
