काठमाडौं। ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्त अदालत पुगेका छन्। मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन्।
तीनैजना प्रहरीले गैरकानुनी रुपमा आफूहरुलाई हिरासतमा राखेको भन्दै अदालत पुगेका हुन्। बुधवार नै रिट दिएका थिए। बिहिवार सार्वजनिक बिदा भएकाले सुनुवाई हुन सकेन।
शुक्रवार मात्र उनीहरुको निवेदनको सुनुवाई हुनेछ।
उनीहरुले हदम्याद नाघेको विषयमा पक्राउ गरेको भन्दै रिट निवेदन दिएका हुन्। तर केन्द्रीय अनुसन्धान ब्युरो एआइजी किरण बज्राचार्य भने पक्राउ परेकाहरुलाई म्याद थप हुने र हदम्याद नलाग्ने बताउँछिन्।
मुलुकी ऐन २०२० मा भएको व्यवस्थाअनुसार किर्ते प्रकरणमा हदम्याद नहुने प्रहरीको दाबी छ। तर अहिले मुलुकी ऐनलाई अपराध संहिताले विस्थापित गरिसकेको छ, जसमा यस्ता केसमा दुई वर्षे हद म्याद छ। त्यसैले कानुनी उल्झन हुने सम्भावना उत्तिकै छ यस प्रकरणमा।
ललिता निवास प्रकरणमा निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्कीलगायत सात जनालाइ प्रहरीले पक्राउ गरेको थियो। जसमा कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई प्रहरीले रिहा गरिसकेको छ।
‘स्टे अर्डर’ लिएको आधारमा उनीहरु छुटेका हुन्। पक्राउ परेका कार्कीबाहेक अन्य तीन जना अस्पताल भर्ना भएका थिए।
उनीहरु विरुद्ध प्रहरीले बुधवार जिल्ला अदालतबाट सात दिन हिरासत राख्ने अनुमति पाएको थियो। ललिता निवास प्रकरणमा प्रहरीले ४ सय ६ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। जसमा जग्गा फिर्ता गरेका २ सय ९ जनाविरुद्ध पक्राउपूर्जी रहेको छ।
