काठमाडौं । भिड नियन्त्रणमा प्रहरीको क्षमता र कार्यक्षमता बढाउने उद्देश्यसहित नेपाल प्रहरीमा छुट्टै विशेष गण स्थापना गर्ने प्रक्रिया अघि बढेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमान्डमा एक हजार प्रहरी जनशक्ति रहने गरी ‘द्रुत कारबाही गण’ स्थापना गर्न लागिएको हो।
प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहत रहने उक्त गण विशेष तालिमप्राप्त जनशक्तिसहित परिचालन गर्ने अवधारणा अघि सारिएको छ। स्थानीय प्रहरी कार्यालयले आवश्यकता महसुस गरी सहयोग मागेको अवस्थामा गण परिचालन हुनेछ। यसलाई केन्द्रीय रिजर्भ फौजका रूपमा विकास गर्ने तयारी छ।
गण स्थापनाका लागि आवश्यक दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयले अर्थ मन्त्रालयको सहमतिका लागि पठाइसकेको छ। प्रहरीमा समग्रमा एक हजार ६७८ दरबन्दी थप्ने प्रस्ताव अघि बढेको छ। सुरुमा दुई हजार १९४ दरबन्दी थपको प्रस्ताव गरिएकोमा संशोधनपछि संख्या घटाएर एक हजार ६७८ कायम गरिएको हो।
नयाँ कार्यालयका रूपमा द्रुत कारबाही गण स्थापना गर्ने र अन्य दरबन्दी भने प्रहरीका विभिन्न निकायमा थप गर्ने तयारी छ। केन्द्रीय अनुसन्धान ब्युरो, प्रहरी स्टाफ कलेज, साइबर ब्युरो तथा विधि विज्ञान प्रयोगशालालगायतका निकायमा समेत जनशक्ति थप्न प्रस्ताव गरिएको छ।
हाल नियमित शान्तिसुरक्षा र भिड नियन्त्रण दुवै जिम्मेवारीमा एउटै प्रहरी जनशक्ति परिचालन हुँदै आएको छ। यसले गर्दा भिड व्यवस्थापनमा आवश्यक विशेषज्ञता, समन्वय र प्रभावकारितामा चुनौती देखिँदै आएको प्रहरी अधिकारीहरूको बुझाइ छ।
गत वर्षको जेनजी आन्दोलनका क्रममा पनि भिड नियन्त्रण र सुरक्षा परिचालनमा देखिएका कमजोरीले छुट्टै विशेषज्ञ जनशक्तिको आवश्यकता थप उजागर गरेको थियो। विशेषगरी २३ भदौको घटनापछि भिड नियन्त्रणको रणनीति, तालिम र परिचालन प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्ने विषय उठ्दै आएको छ।
प्रस्तावित गण स्थापना भएपछि सामान्य प्रदर्शन तथा भिड व्यवस्थापनमा नेपाल प्रहरीकै विशेष जनशक्ति परिचालन गर्ने र त्यसबाट पनि अवस्था नियन्त्रणमा आउन नसकेको अवस्थामा मात्र सशस्त्र प्रहरी बलको सहयोग लिने गरी गृह मन्त्रालयले रणनीति अघि बढाएको छ।
जनशक्ति थपसँगै भिड नियन्त्रणका लागि आवश्यक उपकरण तथा सामग्री खरिद गर्ने विषयमा समेत गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच छलफल भइरहेको छ। यद्यपि, प्रस्ताव कार्यान्वयनका लागि अर्थ मन्त्रालयको सहमति र आवश्यक प्रशासनिक प्रक्रिया पूरा हुन बाँकी छ।

