काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले शनिबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै रसुवादेखि नवलपरासी पश्चिमसम्मका जिल्लामा ती शव फेला परेको जनाएको हो ।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् ।
चितवनमा ३ सय ६४, नवलपरासी पूर्वमा २ सय २९, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा १ सय ९९, रसुवामा १ सय ८५, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
१ हजार २ सय ३० शव व्यवस्थापन
प्रहरीका अनुसार फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ३० वटा शव व्यवस्थापन गरिएको छ । यहाँ शव व्यवस्थापन भन्नाले शवलाई माटोमुनि सुरक्षित राखिएको जनाइएको छ ।
शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ७ सय ७९ गरी कुल ३ हजार ६५ वटा डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, पहिचान हुन बाँकी १ हजार ३ सय ३४ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।
७ हजार ९ सय ७५ प्रहरी परिचालन
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार बाढीपछि बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी छ । विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७ सय ११ जना व्यक्तिलाई राखिएको छ ।
विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा शव पहिचानको कामलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।
