काठमाडौं । नेपाल प्रहरीमा अधिकृतहरूको सरुवा अब पहुँच र दबाबभन्दा पनि योग्यता, कार्यसम्पादन र निर्धारित मापदण्डका आधारमा गर्ने गरी नयाँ अभ्यासको तयारी थालिएको छ।
लामो समयदेखि रोकिएको प्रहरी अधिकृतहरूको नियमित सरुवालाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) ड. मनोजकुमार केसीको पहलमा अन्वेषण, योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गरिएको हो।
समितिलाई प्रहरी कर्मचारीको सरुवा मापदण्ड, २०७९ (संशोधित) अनुसार सरुवा प्रक्रियालाई थप व्यवस्थित बनाउने जिम्मेवारी दिइएको छ।
समितिले सरुवामा अपनाउनुपर्ने मापदण्ड र योग्यताका आधारमा अवसर पाउने अधिकृतहरूको सूची तयार गरी सार्वजनिक गर्ने विषयमा छलफल गरिरहेको छ।
यस्तो सूची सार्वजनिक भएमा कुन अधिकृत सरुवाका लागि योग्य छन् र कसले कुन प्रकारको कार्यालयमा जिम्मेवारी पाउन सक्छन् भन्ने विषय पहिल्यै अनुमान गर्न सकिने अपेक्षा गरिएको छ।
प्रहरी कर्मचारीको सरुवा मापदण्ड, २०७९ (संशोधित) मा कार्यालयहरूलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी अधिकृतहरूलाई आलोपालो अवसर दिने व्यवस्था छ।
ज्येष्ठता, कार्यसम्पादन, योग्यता, तालिम, अनुभव र सेवा विशिष्टीकरणलाई सरुवाको आधार बनाउने मापदण्डले उल्लेख गरेको छ।
त्यस्तै, कार्यालय प्रमुख र सहायकको जिम्मेवारीमा आलोपालो हुने गरी अवसर वितरण गर्ने तथा सुगम, दुर्गम, हिमाल, पहाड र तराईका कार्यालयमा समेत सन्तुलित रूपमा सरुवा गर्ने व्यवस्था मापदण्डमा समेटिएको छ।
प्रहरी नियमावली, २०७१ को नियम ४९ (९) ले समेत प्रहरी कर्मचारीको सरुवालाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन सरुवा समयतालिकासहितको मापदण्ड बनाउनुपर्ने व्यवस्था गरेको छ।
समितिको पहलले कार्यान्वयनको रूप लिएमा प्रहरी अधिकृतहरूको सरुवामा हुने अनिश्चितता र मनोमानीलाई नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, लामो समयदेखि रोकिएको नियमित सरुवा प्रक्रिया अघि बढाउन पनि समितिको सिफारिस महत्वपूर्ण हुने देखिएको छ।

