काठमाडौं । नेपाल प्रहरीमा एकैपटक उच्च तहका १० प्रहरी अधिकृतले अवकाश पाउने भएका छन्। ३० वर्षे सेवा अवधिका कारण पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) घर जान लागेका हुन्।
एआईजीहरू सिद्धिबिक्रम शाह, हिमालय श्रेष्ठ, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी र डम्बर विकले आगामी पुस ५ गतेदेखि अवकाश पाउँदैछन्।
त्यस्तै, डीआईजीहरू विनोद घिमिरे, ओम राना, माधव श्रेष्ठ, दिलीपसिंह देउवा र सुरेन्द्र गुरुङ पनि अवकाशमा जाँदैछन्। उनीहरूमध्ये घिमिरेले मंसिर १६ गते र अन्य चार जनाले पुस ५ गतेदेखि अवकाश पाउनेछन्।
यसअघि एआईजी मनोजकुमार केसी प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएपछि एउटा पद रिक्त भइसकेको छ। अब पाँच एआईजीको अवकाशसँगै एआईजीका कुल ६ पद रिक्त हुनेछन्।
जनपद प्रहरीतर्फ डीआईजीका २० दरबन्दी रहेकामा ५ जना अवकाशमा गएपछि बाँकी १५ अधिकृतबीच ती पदमा बढुवा प्रतिस्पर्धा हुनेछ।
यसपटकको बढुवा प्रतिस्पर्धालाई प्रहरी संगठनभित्र विशेष चासोका साथ हेरिएको छ। किनकि, बढुवा हुने ६ जनाले तत्कालीन एआईजीको जिम्मेवारी मात्र सम्हाल्ने छैनन्, आगामी प्रहरी नेतृत्व निर्माणमा समेत भूमिका खेल्नेछन्। त्यसैले वरिष्ठता, कार्यसम्पादन, व्यावसायिक क्षमता र संगठनमा पुर्याएको योगदान बढुवाका महत्वपूर्ण आधार बन्ने देखिन्छ।

को–को छन् एआईजीका दाबेदार ?
एआईजी बढुवाको प्रतिस्पर्धामा दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्ट, अरुण पौडेल, दीपेन्द्र जिसी, दीपक रेग्मी र गोविन्द थपलिया मुख्य दाबेदारका रूपमा देखिएका छन्। त्यस्तै, दीपक बस्नेत, जयराम सापकोटा, सुदर्शन कोइराला, भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले र विश्व अधिकारी पनि प्रतिस्पर्धामा छन्।
यीमध्ये केही अधिकृत नेपाल प्रहरीमै लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएका हुन् भने केही राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका अधिकृत हुन्। उनीहरूको अनुभव, कार्यक्षेत्र र नेतृत्वदायी जिम्मेवारीका आधारमा बढुवाको प्रतिस्पर्धा रोचक बनेको छ।
१. राजेन्द्रप्रसाद भट्ट
राजेन्द्रप्रसाद भट्ट अनुसन्धान, योजना र व्यवस्थापनको अनुभव भएका अधिकृत हुन्। उनले विभिन्न जिल्ला तथा प्रहरी इकाइमा काम गर्नुका साथै प्रहरी प्रशिक्षण र केन्द्रीय व्यवस्थापनमा समेत जिम्मेवारी सम्हालेका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र दक्षिण सुडानमा काम गरेको अनुभव पनि उनीसँग छ।
अपराध अनुसन्धान, मानवअधिकार र सुरक्षा व्यवस्थापनसम्बन्धी विभिन्न तालिम लिएका भट्ट हाल प्रहरी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयको नेतृत्वमा छन्। डीआईजीमा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरेका थिए।
२. दिनेश आचार्य
दिनेश आचार्य नेपाल प्रहरीमा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अनुभवी अधिकृत हुन्। डीआईजीमा उनले लागूऔषध नियन्त्रण ब्युरो, नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता, गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखको रुपमा जिम्मेवारी सम्हाले। हाल प्रहरी एकेडेमीमा कार्यरत छन्।
संगठनभित्रको प्रशासनिक अनुभवसँगै फिल्ड र केन्द्रीय तहमा काम गरेको पृष्ठभूमि उनको व्यावसायिक यात्राको महत्वपूर्ण पक्ष हो।
३. अरुण पौडेल
अरुण पौडेलले प्रहरी संगठनभित्र प्रदेश नेतृत्वदेखि केन्द्रीय तहसम्मका जिम्मेवारी सम्हालेका छन्। बागमती प्रदेश प्रहरी प्रमुखका रूपमा काम गरेका उनी प्रहरी प्रधान कार्यालयको कार्य विभागअन्तर्गत विभिन्न जिम्मेवारीमा समेत पुगेका छन्। प्रहरी परिचालन, शान्तिसुरक्षा व्यवस्थापन र संगठनको सञ्चालन पक्षमा उनको अनुभव रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका पौडेलको अनुभव बढुवा प्रतिस्पर्धामा महत्वपूर्ण पक्ष हो।
४. गोविन्द थपलिया
गोविन्द थपलिया प्रहरी संगठनको प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारीमा अनुभव भएका अधिकृत हुन्। हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थपलियाले डीआईजीमा मधेस प्रदेश प्रहरी कार्यालयको सफल कमाण्ड गरेका थिए।
प्रहरी कर्मचारीको वृत्ति विकास, जनशक्ति व्यवस्थापन र संगठनात्मक संरचनासँग सम्बन्धित कामको अनुभव उनीसँग छ। केन्द्रीय तहको प्रशासनिक जिम्मेवारीमा काम गरेको पृष्ठभूमि उनको व्यावसायिक यात्राको महत्वपूर्ण पक्ष हो।
५. सुदर्शन कोइराला
सुदर्शन कोइराला पनि राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका अधिकृत हुन्। उनी एसएसपीबाट डीआईजीमा बढुवा भएका अधिकृतमध्ये एक हुन्। डीआईजीमा विशेष ब्युरोको जिम्मेवारी सम्हालेको अनुभव उनीसँग छ।
अनुसन्धान र सूचना संकलनसँग सम्बन्धित निकायमा काम गरेको पृष्ठभूमिका कारण सुरक्षा सूचना तथा अनुसन्धानको क्षेत्रमा उनको अनुभव महत्वपूर्ण मानिन्छ।
६. दीपेन्द्र जिसी
दीपेन्द्र जिसी प्रहरी प्रशिक्षण र प्रदेश नेतृत्वको अनुभव भएका अधिकृत हुन्। उनले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काम गरेका छन्। प्रहरी अधिकृत तथा कर्मचारीको व्यावसायिक क्षमता विकाससँग सम्बन्धित प्रशिक्षणको अनुभव उनीसँग छ।
हाल गण्डकी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा रहेका जिसीको तालिम र फिल्ड कमान्ड दुवै पक्षको अनुभव उनको व्यावसायिक पृष्ठभूमिको महत्वपूर्ण पक्ष हो।

७. दीपक रेग्मी
दीपक रेग्मीले प्रहरी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयमा काम गरेका छन्। केन्द्रीय तहको योजना निर्माण र व्यवस्थापकीय जिम्मेवारीमा अनुभव हासिल गरेका उनी बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन्।
प्रदेशको शान्तिसुरक्षा, प्रहरी परिचालन र मातहतका कार्यालयको व्यवस्थापनमा काम गरेको अनुभव उनको बढुवा प्रतिस्पर्धाको आधार बन्न सक्छ।
८. दीपक बस्नेत
दीपक बस्नेत राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका अधिकृत हुन्। उनले प्रदेश समन्वय विभागमा डीआईजीको जिम्मेवारी सम्हालेका थिए। प्रदेश प्रहरी कार्यालय र केन्द्रीय प्रहरी प्रधान कार्यालयबीच समन्वय, संगठनात्मक परिचालन तथा व्यवस्थापनसँग सम्बन्धित काम उनको जिम्मेवारीको महत्वपूर्ण क्षेत्र रह्यो।
अनुसन्धान पृष्ठभूमिबाट प्रहरी संगठनको उच्च तहसम्म पुगेका बस्नेत पनि एआईजीका दाबेदार हुन्।
९. जयराज सापकोटा
जयराम सापकोटा पनि राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका अधिकृत हुन्। उनले प्रहरी प्रधान कार्यालयको कार्य निर्देशनालयमा काम गर्नुका साथै हाल कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा छन्।
भौगोलिक रूपमा चुनौतीपूर्ण कर्णाली प्रदेशको सुरक्षा व्यवस्थापन, मातहतका प्रहरी इकाइको परिचालन र समन्वयमा काम गरेको अनुभव उनको व्यावसायिक पृष्ठभूमिको महत्वपूर्ण पक्ष हो।
१०. भूपेन्द्र खत्री
भूपेन्द्र खत्री संगठनभित्र अपराध अनुसन्धान र फिल्ड कमान्डको अनुभव भएका अधिकृत हुन्। उनले काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। तत्कालीन सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गर्ने प्रहरी कारबाहीमा उनको भूमिका चर्चामा आएको थियो।
पछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र हाल लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका खत्रीको अपराध अनुसन्धान तथा कमान्ड अनुभव बढुवा प्रतिस्पर्धामा महत्वपूर्ण पक्ष हो।
११. सानुराम भट्टराई
सानुराम भट्टराई अपराध अनुसन्धानको क्षेत्रमा अनुभव भएका अधिकृत हुन्। उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वसमेत सम्हाले। उपत्यकामा हुने संगठित अपराध, आर्थिक अपराध र विभिन्न आपराधिक गतिविधिको अनुसन्धान तथा नियन्त्रणसँग सम्बन्धित काममा उनको अनुभव रहेको छ।
हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको सफल कमाण्ड सम्हालिरहेका छन्। प्रहरी संगठनको अपराध अनुसन्धानसम्बन्धी जिम्मेवारीमा काम गरेको पृष्ठभूमि उनको व्यावसायिक यात्राको महत्वपूर्ण पक्ष हो।
१२. ओम अधिकारी
ओम अधिकारी प्रहरी संगठनको उच्च तहमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अधिकृत हुन्। उनले प्रहरी महानिरीक्षकको सचिवालयमा काम गरेको अनुभव छ। हाल मधेस प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत अधिकारी संगठनमा अब्बल अधिकृत हुन्।
केही समय काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारीसमेत सम्हालेका अधिकारीको संगठनको केन्द्रीय प्रशासनिक संयन्त्र र उपत्यकाको सुरक्षा व्यवस्थापन दुवै पक्षको अनुभव रहेको छ।

१३. शेखर खनाल
शेखर खनालले प्रहरी संगठनमा जिल्ला कमान्ड र केन्द्रीय निकायमा काम गरेको अनुभव हासिल गरेका छन्। उनले ललितपुर प्रहरी परिसरको नेतृत्व सम्हालेका थिए। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरी नायव महानिरीक्षकको जिम्मेवारीमा पुगे।
हाल कोशी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारीमा रहेका खनाल जिल्लाको सुरक्षा व्यवस्थापनदेखि भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा सहयोग गर्ने निकायसम्मको अनुभव उनको व्यावसायिक यात्राको महत्वपूर्ण पक्ष हो।
१४. अविनारायण काफ्ले
अविनारायण काफ्ले २०५६ सालमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका अधिकृत हुन्। उनी एसएसपीबाट डीआईजीमा बढुवा भएका अधिकृतमध्ये एक हुन्। बढुवापछि प्रहरी महानिरीक्षकको सचिवालयमा जिम्मेवारी पाएका काफ्लेको अनुभव संगठनको केन्द्रीय प्रशासनिक तथा समन्वयात्मक कामसँग जोडिएको छ।
लामो समयको सेवा अनुभव र केन्द्रीय तहमा काम गरेको पृष्ठभूमि उनका लागि महत्वपूर्ण पक्ष हो।
१५. विश्व अधिकारी
विश्व अधिकारीको बढुवा यात्रा भने अन्य अधिकृतको भन्दा फरक रह्यो। २०८० वैशाख २४ गते एसएसपीमा बढुवा हुँदा उनी पहिलो नम्बरमा थिए। तर जेनजी आन्दोलनका बेला काठमाडौं प्रहरी परिसर प्रमुख रहेका कारण आन्दोलनपछिको राजनीतिक परिस्थितिमा उनी डीआईजी बढुवाको पहिलो सूचीबाट बाहिरिए।
२०८२ कात्तिकमा पाँच जनालाई डीआईजीमा बढुवा सिफारिस गर्दा पहिलो वरियताका अधिकारीलाई छुटाइएको थियो। त्यसबेला आन्दोलनसम्बन्धी घटनाको छानबिन भइरहेको विषयलाई कारणका रूपमा प्रस्तुत गरिएको थियो।
वरियतामा अगाडि हुँदाहुँदै बढुवाबाट छुटाइनुलाई उनका पक्षधरले तत्कालीन सरकारबाट भएको अन्यायका रूपमा व्याख्या गरेका थिए। पछि मंसिर १ गते उनलाई डीआईजीमा बढुवा सिफारिस गरिएको थियो।
यसरी पहिलो वरियतामा रहेर पनि ढिलो बढुवा पाएको उनको प्रसंग यसपटकको प्रतिस्पर्धामा पनि चर्चामा रहनेछ।
ब्याचको समीकरण पनि महत्वपूर्ण
एआईजी बढुवामा वरिष्ठ ब्याचका अधिकृतलाई मात्र अवसर दिने कि आगामी प्रहरी नेतृत्वका लागि महत्वपूर्ण मानिएको ११२ समूहका अधिकृतलाई समेत समेट्ने भन्ने विषयले पनि चर्चा पाएको छ। शेखर खनाल, भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, अविनारायण काफ्ले र विश्व अधिकारीलगायतका अधिकृत आगामी प्रहरी नेतृत्वका दाबेदार मानिने ब्याचका हुन्।
सिनियर ब्याचका अनुभवी अधिकृतलाई प्राथमिकतामा राख्दै अर्को ब्याचबाट समेत योग्य अधिकृतलाई अवसर दिने विषयमा छलफल भइरहेको गृह मन्त्रालय स्रोतको दाबी छ। यसले संगठनमा नेतृत्वको निरन्तरता र आगामी पुस्ताको नेतृत्व विकासलाई समेत जोड्ने अपेक्षा गरिएको छ।

आफ्नाभन्दा योग्यलाई प्राथमिकता दिने आईजीपीको तयारी
१५ जना डीआईजीमध्येबाट ६ जनालाई एआईजीमा बढुवा गर्नु प्रहरी नेतृत्वका लागि महत्वपूर्ण निर्णय हुनेछ। यसले तत्कालीन रिक्त पद पूर्ति गर्ने मात्रै नभई आगामी प्रहरी नेतृत्वको आधारसमेत तयार गर्नेछ।
आईजीपी केसीले यसपटक व्यक्तिगत निकटता र गुटगत सम्बन्धभन्दा योग्यता, वरिष्ठता, कार्यसम्पादन तथा संगठनमा पुर्याएको योगदानलाई प्राथमिकता दिने तयारी गरेको स्रोतको दाबी छ। आफ्ना निकट मानिएका अधिकृतलाई मात्रै अघि बढाउनेभन्दा प्रतिस्पर्धामा रहेका सबैमध्ये योग्य र सक्षम अधिकृतलाई छनोट गर्ने उनको तयारी रहेको बताइन्छ।
बढुवा प्रक्रियामा गृह मन्त्रालयको अनावश्यक हस्तक्षेप नहुने र प्रहरी नेतृत्वको मूल्यांकनलाई आधार बनाएर सिफारिस तथा निर्णय प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। यसले प्रहरी संगठनभित्र बढुवालाई लिएर उठ्ने गुटगत प्रभाव र पहुँचका विषयलाई कम गर्दै योग्य अधिकृतलाई नेतृत्वमा पुग्ने अवसर दिने विश्वास गरिएको छ।
यसपटकको बढुवाले आईजीपी केसीको नेतृत्वमा प्रहरी संगठन कति हदसम्म योग्यतामुखी र निष्पक्ष निर्णय प्रक्रियामा अघि बढ्छ भन्ने सन्देशसमेत दिनेछ।

