काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको भीषण बाढीपछि प्रभावित नागरिकको उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न अपिल गरेका छन्।
लामिछानेले विपद्को यस कठिन अवस्थामा पार्टीका नेता, सदस्य, शुभेच्छुक तथा सर्वसाधारणलाई उद्धार, राहत र स्वयंसेवी कार्यमा सक्रिय हुन आग्रह गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत विपद्को समयमा अपुष्ट सूचना तथा गलत हल्ला नफैलाउनसमेत आग्रह गरेका छन्। आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन र उद्धार कार्यमा सहयोग पुग्ने गरी जिम्मेवार भूमिका निर्वाह गर्न उनले आग्रह गरेका हुन्।
रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायत क्षेत्रमा बुधबार बिहान आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य विपद् व्यवस्थापन संयन्त्र उद्धार, खोज तथा राहतमा परिचालन भएका छन्।
