काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदमुक्त गर्ने सरकारी निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले आगामी मंसिर ९ गते अर्को सुनुवाइ गर्ने भएको छ।
सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिटलाई प्राथमिकतामा राखेर सुनुवाइ गर्ने गरी मंसिर ९ गते बुधबारका लागि पेसी तोकेको हो।
सुनुवाइका क्रममा इजलासले हालका प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीका नाममा जारी भएको म्याद प्रहरी प्रधान कार्यालयलाई प्रतिनिधित्व गर्ने कानुन व्यवसायी (अधिवक्ता) मार्फत तामेल गर्नसमेत आदेश दिएको छ।
सर्वोच्चले गत मंसिर ४ गते आईजीपी केसीका नाममा म्याद जारी गरेको थियो। उक्त म्याद बुझाउन अदालतका तामेलदार प्रहरी प्रधान कार्यालय पुगे पनि कार्यालयले बुझ्न अस्वीकार गरेको थियो।
अदालतको आदेशअनुसार म्याद तामेल गर्न पुगेका कर्मचारीलाई प्रहरी प्रधान कार्यालयका कर्मचारीले आईजीपी बैठकमा रहेको भन्दै कार्यालय समयसम्म पर्खाएका थिए।
तर, कार्यालय समय सकिँदासम्म पनि आईजीपी उपस्थित नभएपछि म्याद बुझाउने प्रक्रिया अघि बढ्न सकेन। त्यसपछि तामेलदारले म्याद तामेल हुन नसकेको प्रतिवेदन अदालतमा पेस गरेका थिए।
सोमबारको सुनुवाइमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ताले प्राविधिक कारणले यसअघि म्याद बुझ्न नसकिएको जिकिर गर्दै पुनः जारी भएमा म्याद नफर्काउने प्रतिबद्धता जनाएका थिए। सोही आधारमा इजलासले अधिवक्तामार्फत म्याद बुझाई नियमानुसार पेस गर्न आदेश दिएको हो।
साथै, आगामी पेसीको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई समेत दिन सर्वोच्चले आदेश दिएको छ।
सरकारले गत कात्तिक १८ गते मन्त्रिपरिषद्को निर्णयबाट कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। उनको स्थानमा एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।
सरकारको उक्त निर्णय गैरकानुनी रहेको दाबी गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए। उनले आफूलाई पदमुक्त गर्ने निर्णय बदर गरी प्रहरी महानिरीक्षकको जिम्मेवारीमा पुनर्बहाली गर्न माग गरेका छन्।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश जारी नगरी दुवै पक्षलाई छलफलमा बोलाएको थियो।
सोही आदेशअनुसार सोमबार भएको सुनुवाइपछि अब रिटमाथिको अर्को सुनुवाइ मंसिर ९ गते हुने भएको छ।

