काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ म्याद तामेलीको विषयमा स्पष्टता नहुँदा सरेको छ।
सोमबार सर्वोच्च अदालतमा सुनुवाइका क्रममा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित कानुन व्यवसायीले वर्तमान आईजीपी डा. मनोजकुमार केसीले म्याद तामेल नभएको जानकारी दिएको बताएपछि इजलासमा यस विषयमा प्रश्न उठेको थियो।
म्याद तामेलीको अवस्थाबारे अन्योल भएपछि मुद्दाको सुनुवाइ अघि बढ्न सकेन। इजलासले अर्को पेसीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आईजीपीमा मनोजकुमार केसीलाई नियुक्त गर्ने र दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णयसम्बन्धी फाइल पेस हुने सुनिश्चितता गर्न महान्यायाधिवक्तालाई निर्देशन दिने तयारी गरेको छ।
यसअघि सर्वोच्च अदालतले कार्कीको रिटमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।
सरकारले गत १८ कात्तिकमा कार्कीलाई आईजीपी पदबाट हटाएर केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। त्यसपछि कार्कीले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

