रौतहट । ‘जय नेपाल’ नभनेको भन्दै सहकर्मी प्रहरी कर्मचारीलाई फोनमै अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतो निलम्बनमा परेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाको छानबिनपछि आइतबार महतोलाई निलम्बन गरेको हो । उनीमाथि विभागीय कारबाही प्रक्रिया समेत अघि बढाइएको छ ।
डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादवले आफ्नो हराएको छोरा खोजी गरिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा फोन गर्दा महतोले अपमानजनक भाषा प्रयोग गरेको आरोप छ । उक्त घटनासँग सम्बन्धित अडियो सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै विषयले चर्चा पाएको थियो ।
घटना यादवका १७ वर्षीय छोरा चन्दनकुमार हराएपछि सुरु भएको थियो । एसईई उत्तीर्ण गरेपछि अध्ययनका लागि काठमाडौं बस्दै आएका चन्दन छठ पर्व मनाउन घर आएका बेला दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट हराएका थिए ।
छोराको खोजीका लागि यादवले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा फोन गरेका थिए । कन्ट्रोल रुमबाट सञ्चार शाखामा जानकारी गराउन भनिएपछि उनले पुनः फोन गरेका थिए ।
त्यसक्रममा सञ्चार शाखामा कार्यरत महतोले आफूलाई प्रहरी नायब निरीक्षक (सई) बताउँदै ‘जय नेपाल’ नभनेको भन्दै गालीगलौज गरेको यादवको आरोप छ । पछि फोनमा सईका रूपमा प्रस्तुत भएका व्यक्ति प्रहरी हवल्दार महतो रहेको खुलेको थियो ।
घटनाबारे छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले शनिबार दुवै प्रहरी कर्मचारीलाई जनकपुर बोलाएर सोधपुछ गरेको थियो । सोधपुछ र प्रारम्भिक छानबिनपछि महतोलाई निलम्बन गरी थप विभागीय कारबाही प्रक्रिया अघि बढाइएको हो ।

