रौतहट । नेपाल–भारत सीमावर्ती जिल्ला रौतहटमा गाईगोरुको अवैध ओसारपसारको धन्दा मौलाउँदै गएको पाइएको छ। सीमावर्ती गाउँमा गाईगोरु संकलन गर्ने, निश्चित स्थानमा जम्मा पार्ने र त्यहाँबाट भारततर्फ लैजाने गरिएको पाइएको हो।
तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमै यस्तो गतिविधि भइरहेको आरोपले सुरक्षा निकायको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।
स्थानीय स्रोतबाट प्राप्त विवरण र तस्बिरअनुसार रौतहटको सीमावर्ती क्षेत्र मलिहिनियामा गाईगोरु संकलन गरेर राख्ने स्थानसमेत रहेको देखिन्छ। प्राप्त तस्बिरमा एक ठाउँमा गाईगोरु राखिएको हो।
स्थानीय स्रोतले उक्त स्थानलाई गाईगोरु संकलन गर्ने ठाउँका रूपमा चिनाएको छ। संकलन गरिएका गाईगोरु बाराको पहाडी गाउँ वा सुनसरी, सिन्धुलीलगायतबाट ल्याइन्छन् र त्यसपछि नाकाबाट भारततर्फ पठाइन्छ। यो विषयमा थप अनुसन्धान आवश्यक देखिन्छ।
स्थानीयका अनुसार यमुना माई नगरपालिका–३ मलहिनिया टोलका शेख हसेर आलम र उर्फ राफिउल्लाह मुख्य गाईगोरुको अवैध कारोबारसँग जोडिएका व्यक्तिहरू हुन्।
त्यस्तै जयनगरका नथुनी, गौर सबगदाका अवास, लदमिनियाका लमबु र बैरियाका मगनीको नामसमेत स्थानीय स्रोतले तस्करीसँग जोडेर लिएको छ।
स्थानीयको आरोपअनुसार विभिन्न स्थानबाट गाईगोरु संकलन गरी सीमावर्ती क्षेत्रमा जम्मा पार्ने र अनुकूल समयमा भारततर्फ लैजाने गरिएको छ। यदि यस्तो कारोबार नियमित भइरहेको छ भने त्यसमा संलग्न व्यक्तिहरूमाथि सुरक्षा निकाय मौन बस्ने गरेको आरोप छ।
एसपी रिजालमाथि संरक्षणको आरोप, सशस्त्र प्रहरीको भूमिका पनि प्रश्नमा
जिल्ला प्रहरी कार्यालय रौतहटको नेतृत्व एसपी सीताराम रिजालले गरिरहेका छन्। स्थानीयस्तरबाट तस्करीमा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरी नेतृत्वको संरक्षण रहेको आरोपसमेत लगाइएको छ।
त्यस्तै सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। रौतहटमा सशस्त्र प्रहरीको नेतृत्व एसपी चेतराज अधिकारीले सम्हालिरहेका छन्।
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीका युनिट र गस्ती परिचालन भइरहँदा पनि गाईगोरु संकलन तथा ओसारपसार भइरहेको स्थानीयको दाबी छ।
सीमामा खटिएका सुरक्षाकर्मीले नियमित गस्ती र निगरानी गरिरहेका छन् भने यस्ता गतिविधि कसरी भइरहेका छन् ? गाईगोरु संकलन हुने भनिएका स्थानबारे सुरक्षा निकायलाई जानकारी छ कि छैन ? तस्करीमा संलग्न भनिएका व्यक्तिहरूमाथि अहिलेसम्म के-कस्ता अनुसन्धान र कारबाही भएका छन् ? यी प्रश्नको जवाफ सम्बन्धित सुरक्षा नेतृत्वले दिनुपर्ने देखिन्छ।
संकलनस्थलदेखि सीमापारसम्मको सञ्जाल खोज्नुपर्ने
गाईगोरु तस्करी केवल सीमामा हुने ओसारपसारको विषय मात्र होइन। यसमा संकलन गर्ने व्यक्ति, ढुवानी गर्ने समूह, सीमावर्ती सम्पर्क र गन्तव्यसम्मको सञ्जाल जोडिएको हुन सक्छ।
रौतहटमा सार्वजनिक भएका आरोप र प्राप्त तस्बिरले सीमावर्ती क्षेत्रमा गाईगोरु संकलन तथा ओसारपसारबारे थप छानबिन गर्नुपर्ने आवश्यकता देखाएको छ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सीमावर्ती क्षेत्रको निगरानी बढाउँदै आरोपमा नाम आएका व्यक्तिहरूको गतिविधि र सम्भावित कारोबारबारे निष्पक्ष अनुसन्धान गर्नुपर्ने देखिन्छ।
सीमामा हुने अवैध कारोबार नियन्त्रण गर्नु सुरक्षा निकायको जिम्मेवारी हो। त्यसैले रौतहटमा गाईगोरुको संकलन र सीमापार ओसारपसारबारे उठेका प्रश्नलाई बेवास्ता गर्न मिल्दैन। प्रहरी नेतृत्वले तस्करी नियन्त्रणमा आफ्नो भूमिका, निगरानीको अवस्था र आरोपबारे स्पष्ट जवाफ दिन आवश्यक छ।

