काठमाडौं । नेपाल प्रहरीको कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशले दोहोरो सफलता हासिल गरेको छ। प्रदेश प्रहरी कार्यालयहरूको मूल्यांकनमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर पहिलो हुँदा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूको मूल्यांकनमा पनि मधेस प्रदेशकै पथलैया ट्राफिक पहिलो बनेको छ।
मधेस प्रदेश प्रहरी कार्यालयको नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम अधिकारीले सम्हालिरहेका छन् भने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले गरिरहेका छन्।
दुवै कार्यालयले मधेस प्रदेशभरका प्रहरी तथा ट्राफिक प्रहरीका गतिविधि, कार्यसम्पादन र परिचालनको अनुगमन तथा व्यवस्थापकीय समन्वय गर्ने जिम्मेवारीसमेत निर्वाह गर्दै आएका छन्।
यहिबिच दुवै कार्यालयले आ–आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै नेपाल प्रहरीको मूल्यांकनमा पहिलो स्थान हासिल गरेका हुन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको २०८३ कात्तिक महिनाको कार्यसम्पादन रिपोर्ट कार्डअनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले ३४६ पूर्णांकमा ३००.३९ अंक प्राप्त गर्दै ८६.८२ प्रतिशतसहित पहिलो स्थान हासिल गरेको हो।
प्रदेश प्रहरी कार्यालयहरूको मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर ८६.०६ प्रतिशतसहित दोस्रो भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले ८५.७८ प्रतिशत, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ८२.२३ प्रतिशत र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले ८०.९६ प्रतिशत प्राप्त गरेका छन्।
त्यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ७९.४२ प्रतिशत, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले ७९.१३ प्रतिशत र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ७८.८८ प्रतिशत अंक प्राप्त गरेका छन्।
प्रदेश प्रहरी कार्यालयमा मात्रै नभई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ पनि मधेस प्रदेशले अग्रता कायम गरेको छ। उक्त समूहको मूल्यांकनमा पथलैया कार्यालयले ८४.८८ प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ।
यसैगरी अनारिया कार्यालयले ८०.८३ प्रतिशत र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ८०.४३ प्रतिशत प्राप्त गरेका छन्। बुटवल र सुर्खेतका ट्राफिक कार्यालयले ७३ प्रतिशतभन्दा बढी अंक हासिल गर्दा रामनगर र बेलचौतारा कार्यालय भने क्रमशः ६९.१५ र ६९.१४ प्रतिशतमा सीमित भएका छन्। यी दुवै कार्यालय ‘ख’ श्रेणीमा परेका छन्।
एउटै प्रदेशअन्तर्गतका प्रहरी कार्यालयले दुई फरक कार्यसम्पादन समूहमा पहिलो स्थान हासिल गर्नु मधेस प्रहरीका लागि उल्लेखनीय उपलब्धिका रूपमा देखिएको छ। यसले प्रदेशस्तरीय प्रहरी नेतृत्वसँगै राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापनमा खटिएका इकाइहरूको कार्यसम्पादन पनि मूल्यांकनमा अगाडि रहेको देखाउँछ।
प्रहरीको यस्तो मूल्यांकनले संगठनभित्र प्रतिस्पर्धात्मक कार्यसंस्कृति विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उत्कृष्ट नतिजा हासिल गरेका कार्यालयको कार्यशैलीलाई अन्य इकाइमा विस्तार गर्दै कमजोर देखिएका कार्यालयको कार्यसम्पादन सुधार गर्न सके मूल्यांकन प्रणालीले संगठनको समग्र प्रभावकारितामा योगदान पुर्याउन सक्छ।
यस्तै मधेस प्रदेशमा कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा पहिलो स्थानमा देखिएको छ। पर्साले १२० पूर्णांकमा १०३.९६ अंक प्राप्त गर्दै ८६.६३ प्रतिशत हासिल गरेको छ।

