काठमाडौं । काठमाडौंको माछापोखरीस्थित एक गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकाहरूको साथबाट १ लाख ९३ हजार १८५ रुपैयाँ नगद र चार बुक तास बरामद गरिएको छ।
गत शुक्रबार राति करिब १० बजे काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित एक गेस्ट हाउसमा हारजित हुने गरी जुवा खेल भइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
सूचनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले गेस्ट हाउसमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा कृष्ण गुरुङ, जितबहादुर गुरुङ (दुई जना), नवीन गुरुङ, समीर गुरुङ, अशोक शर्मा, अरुण खनाल, रामशरण केसी, च्यारी गुरुङ, हेमन्त गुरुङ, वीरबहादुर गुरुङ र डम्मर सिंह गुरुङ रहेका छन्।
पक्राउ परेका १२ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

