काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) गोपाल खत्री महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
कार्यालयले मातहतका प्रहरी कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा खत्रीलाई उत्कृष्ट प्रहरी छनोट गरेको हो।
कार्यालयको ५ नम्बर पिल्लरमा कार्यरत खत्रीले कात्तिक महिनामा विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अन्य महत्त्वपूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गरेका थिए।
संगठनको नीति, निर्देशन र पदीय दायित्वअनुसार इमानदारी, वफादारी, लगनशीलता तथा व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको कार्यालयले जनाएको छ।
‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम खत्रीलाई महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको हो।
कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले खत्रीको कार्यसम्पादन र योगदानको मूल्यांकन गर्दै उक्त घोषणा गरिएको जानकारी दिएका छन्।
यसबाट अन्य प्रहरी कर्मचारीलाई पनि आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी र प्रतिबद्ध भएर काम गर्न प्रेरणा मिल्ने कार्यालयको अपेक्षा छ।


