काठमाडौं । राष्ट्रियस्तरमै सहकारी ठगीका घटनाले चर्चा पाइरहेका बेला काभ्रेको खानीखोला गाउँपालिकामा सञ्चालित एक बहुउद्देश्यीय सहकारीको आर्थिक पारदर्शितामाथि पनि गम्भीर प्रश्न उठेको छ।
सहकारीका संस्थापक अध्यक्ष विपिन दाहालमाथि शेयर सदस्यबाट संकलित रकमको हिसाबकिताब नदेखाएको, स्थापनादेखि साधारणसभा नगरेको र संस्थालाई अपारदर्शी ढंगले सञ्चालन गरेको आरोप लागेको हो।
खानीखोला बहुउद्देश्यीय सहकारी संस्थामा दुई सयभन्दा बढी शेयर सदस्य रहेको बताइन्छ। तर, संस्थाको स्थापना भएदेखि हालसम्म साधारणसभा नगरिएको र शेयर सदस्यलाई संस्थाको आर्थिक अवस्थाबारे कुनै जानकारी नदिइएको सदस्यहरूको गुनासो छ।
सहकारीका संस्थापक अध्यक्ष दाहालले विभिन्न व्यक्तिमार्फत शेयर सदस्यका नाममा लाखौँ रुपैयाँ संकलन गरेको भए पनि त्यसको स्पष्ट हिसाब तथा शेयरको विवरण उपलब्ध नगराएको आरोपसमेत लागेको छ।
काभ्रे पनौतीका एक व्यवसायीका अनुसार उनले प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले रकम उपलब्ध गराएका थिए। तर, लामो समय बितिसक्दा पनि न शेयरको प्रमाण पाएका छन्, न त लगानी गरेको रकम फिर्ता भएको छ।
‘हामीले २० हजारका दरले पैसा दिएका थियौँ। आजसम्म न शेयरको कुनै हिस्सा छ, न पैसा नै फिर्ता भएको छ। यो विषयको जवाफ कसले दिने ?’ ती व्यवसायीले प्रश्न गरे।
सहकारीको वार्षिक आम्दानी, खर्च, लगानी, ऋण असुली तथा संस्थाको आर्थिक अवस्थाबारे शेयर सदस्यले जानकारी पाउनुपर्ने भए पनि कुनै विवरण उपलब्ध नगराइएको सदस्यहरूको आरोप छ।
‘सहकारीको आर्थिक अवस्था के छ, कति आम्दानी भयो, कति खर्च भयो र रकम कहाँ लगानी गरिएको छ भन्ने हामीलाई केही जानकारी छैन। फेसबुकमा ठूला कुरा गरेर हिँड्ने तर शेयर सदस्यलाई हिसाब नदेखाउने प्रवृत्ति देखियो,’ एक शेयर सदस्यले गुनासो गरे।
अझ अर्को गम्भीर आरोप संस्थाको आधिकारिक माइन्युटसँग जोडिएको छ। शेयर सदस्यहरूले साधारणसभा नै नगरी संस्थाको माइन्युट अर्कै व्यक्तिलाई जिम्मा लगाएर अध्यक्ष दाहाल सम्पर्कबाहिर रहेको दाबी गरेका छन्।
साधारणसभा नभएको अवस्थामा माइन्युटमा के-कस्ता निर्णय लेखिए ? ती निर्णय कसले र कुन प्रक्रियाबाट प्रमाणित गर्यो ? संस्थाको आधिकारिक अभिलेख अहिले कसको जिम्मामा छ ? यी विषयमा स्पष्ट जवाफ मागिएको छ।
गाउँपालिकासँग सम्झौता, एक वर्षमै खरिद–बिक्री केन्द्र बन्द
सहकारीको विवाद शेयर सदस्यको रकम र आन्तरिक व्यवस्थापनमा मात्रै सीमित छैन। दाहाल नेतृत्वको सहकारीले खानीखोला गाउँपालिकासँग सम्झौता गरी स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले खरिद–बिक्री केन्द्रसमेत सञ्चालन गरेको थियो।
तर, उक्त केन्द्र करिब एक वर्ष सञ्चालन भएपछि बन्द भएको बताइएको छ। केन्द्र बन्द गर्दा गाउँपालिकालाई औपचारिक जानकारीसमेत नगराइएको आरोप लागेको छ।
गाउँपालिकासँग सम्झौता गरेर सुरु गरिएको कार्यक्रम किन बन्द भयो ? केन्द्र सञ्चालनका क्रममा भएको आर्थिक कारोबारको विवरण कहाँ छ ? सम्झौताअनुसारको जिम्मेवारी पूरा भयो कि भएन ? यी प्रश्नसमेत अनुत्तरित रहेको स्थानीय तथा शेयर सदस्यहरूको गुनासो छ।
एकातिर दुई सयभन्दा बढी शेयर सदस्यको लगानीको हिसाबकिताब सार्वजनिक नभएको आरोप छ भने अर्कोतिर गाउँपालिकासँगको सम्झौताअनुसार सुरु गरिएको कार्यक्रमसमेत अलपत्र परेको विषयले सहकारीको व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
सहकारी संस्था कुनै व्यक्तिको निजी सम्पत्ति होइन। शेयर सदस्यको लगानीबाट सञ्चालित संस्थामा नियमित साधारणसभा, आर्थिक विवरणको पारदर्शिता र सदस्यप्रतिको जवाफदेहिता अनिवार्य हुन्छ। त्यसैले खानीखोला बहुउद्देश्यीय सहकारीको आर्थिक कारोबार, शेयर सदस्यको लगानी र संस्थाको अभिलेखबारे सम्बन्धित निकायले समेत चासो दिनुपर्ने देखिन्छ।
यस विषयमा अध्यक्ष विपिन दाहालको धारणा लिन सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन। उनको प्रतिक्रिया प्राप्त भएमा समाचारमा समेटिनेछ।

