धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्द सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट २०८३ साल कात्तिक महिनाको ‘Police of the Month’ घोषित भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले चन्दलाई व्यावसायिकता, निष्ठा, लगनशीलता एवं कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो ।
नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीको नेतृत्व सम्हालेका चन्दले मातहतका प्रहरी इकाइहरूलाई योजनाबद्ध रूपमा परिचालन गरी जिल्लाको अपराध अनुसन्धान तथा नियन्त्रण र समग्र शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने, प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने तथा नेपाल प्रहरी संगठनको गरिमा र श्रीवृद्धिमा योगदान पुर्याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
प्रदेश प्रहरी कार्यालयले चन्दको कार्यसम्पादन र योगदानको उच्च कदर गर्दै २०८३ साल कात्तिक महिनाको ‘Police of the Month’ घोषणा गरेको प्रशंसापत्रमा उल्लेख गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सामुनाथ भट्टराईले हस्ताक्षर गरेको प्रशंसापत्रमा आगामी दिनमा पनि अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
चन्दको छनौटसँगै उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट कात्तिक महिनाका उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

