काठमाडौं । नेपाल प्रहरीका गण तथा गुल्महरूको कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी गण खजुरा लगातार दुई महिना पहिलो भएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको असोज र कात्तिक महिनाको मूल्यांकनमा एसपी मिलन केसीको कमाण्डमा रहेको खजुरा गणले उत्कृष्ट नतिजा हासिल गरेको हो।
प्राप्त मूल्यांकन विवरणअनुसार लुम्बिनी प्रदेश प्रहरी गण खजुराले ९८.२९ प्रतिशत अंक प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरी गण नम्बर १ नक्सालले ९८ प्रतिशत अंक पाएको छ। नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगञ्जले ९७.१३ प्रतिशत र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्सालले ९७.७० प्रतिशत अंक प्राप्त गरेका छन्।
अधिकांश गण तथा गुल्मले ‘क’ श्रेणी हासिल गरे पनि कार्यसम्पादन मूल्यांकनमा इकाइगत अन्तर देखिएको छ।
जिल्ला प्रहरीमा पर्सा पहिलो, मुस्ताङ कमजोर
२०८३ कात्तिक महिनाको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा पहिलो स्थानमा देखिएको छ। पर्साले १२० पूर्णांकमा १०३.९६ अंक प्राप्त गर्दै ८६.६३ प्रतिशत हासिल गरेको छ।
दोस्रो स्थानमा रहेको काठमाडौंले ८५.७७ प्रतिशत प्राप्त गरेको छ। त्यसैगरी रुपन्देहीले ८५.२२, बाँकेले ८४.८७ र कैलालीले ८४.२० प्रतिशत अंक हासिल गरेका छन्।
जिल्ला प्रहरी कार्यालयहरूमध्ये मुस्ताङको कार्यसम्पादन सबैभन्दा कमजोर देखिएको छ। मुस्ताङले ६४.४० प्रतिशत मात्रै प्राप्त गरेको छ। कालिकोटले ६८.०९ र तनहुँले ६९.४४ प्रतिशत अंक पाएका छन्।
प्रदेश प्रहरी कार्यालयमा मधेस पहिलो
प्रदेश प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर पहिलो भएको छ। उक्त कार्यालयले ३४६ पूर्णांकमा ३००.३९ अंक प्राप्त गर्दै ८६.८२ प्रतिशत हासिल गरेको छ।
दोस्रो स्थानमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर रहेको छ। उसले ८६.०६ प्रतिशत प्राप्त गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले ८५.७८, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ८२.२३ र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले ८०.९६ प्रतिशत अंक प्राप्त गरेका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ७९.४२ प्रतिशत प्राप्त गर्दा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले ७९.१३ र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ७८.८८ प्रतिशत प्राप्त गरेका छन्।
प्रदेश प्रहरी कार्यालय भैरहवा पहिलो
नेपाल प्रहरीका प्रदेशस्तरीय कार्यालयहरूको अर्को मूल्यांकनमा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा पहिलो स्थानमा रहेको छ। भैरहवाले ६० पूर्णांकमा ५४.०३ अंक प्राप्त गर्दै ९०.०५ प्रतिशत हासिल गरेको छ।
पोखरा प्रदेश प्रहरी कार्यालयले ८८.६५ प्रतिशतसहित दोस्रो स्थान हासिल गरेको छ। त्यस्तै महेन्द्रनगरले ८७.८७, वीरगञ्जले ८३.९५, बनेपाले ८२.४७ र धरानले ८१.२२ प्रतिशत प्राप्त गरेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जले ७८.४७ प्रतिशत मात्रै हासिल गरेको छ।
तालिम केन्द्रमा मधेस अगाडि
प्रहरीका तालिम केन्द्र तथा शिक्षालयहरूको मूल्यांकनमा मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजले ९९.११ प्रतिशत अंकसहित पहिलो स्थान हासिल गरेको छ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जले ९९.०९ र कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरले ९८.६० प्रतिशत प्राप्त गरेका छन्।
त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले ९८.४९, नेपाल प्रहरी शिक्षालय भरतपुरले ९७.५०, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले ९६.८७, नेपाल प्रहरी युक्ति महाविद्यालय जर्गाहले ९४.७७ र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराले ९३.४७ प्रतिशत अंक प्राप्त गरेका छन्।
ट्राफिक कार्यालयको मूल्यांकनमा पथलैया अगाडि
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापन कार्यालयहरूको मूल्यांकनमा पथलैया पहिलो स्थानमा देखिएको छ। पथलैयाले ८४.८८ प्रतिशत अंक प्राप्त गरेको छ।
अनारियाले ८०.८३ र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ८०.४३ प्रतिशत हासिल गरेका छन्।
बुटवल र सुर्खेतका ट्राफिक कार्यालयले ७३ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्दा रामनगर र बेलचौताराको नतिजा भने कमजोर देखिएको छ। रामनगरले ६९.१५ र बेलचौताराले ६९.१४ प्रतिशत मात्रै प्राप्त गरेका छन्। यी दुवै कार्यालय ‘ख’ श्रेणीमा सीमित भएका छन्।
प्रहरीको कार्यसम्पादन मूल्यांकनले संगठनभित्रका विभिन्न इकाइबीचको प्रतिस्पर्धा र व्यवस्थापकीय क्षमताको अवस्थासमेत देखाएको छ।
उत्कृष्ट नतिजा हासिल गर्ने इकाइको कार्यशैलीलाई अन्यत्र विस्तार गर्ने र कमजोर नतिजा आएका कार्यालयको कमजोरी पहिचान गरी सुधार गर्ने हो भने यस्तो मूल्यांकन संगठन सुधारको प्रभावकारी माध्यम बन्न सक्छ।

