काठमाडौं । नेपाल प्रहरीका आधारभूत तहका कर्मचारीले भोग्दै आएका समस्या, विभेद तथा सेवासम्बन्धी गुनासो अब केन्द्रीयस्तरबाटै सुनुवाइ हुने भएको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले ‘आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’को उद्घाटन गरेका छन्।
डेस्कको शुभारम्भसँगै आईजीपी केसीले नेपाल प्रहरीको सीयूजी सेवामा आबद्ध आधारभूत तहका ५४ हजार १२२ जना प्रहरी कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ता गर्ने गुगल फारामको लिंक पठाएका थिए। उनले एक जना प्रहरी कर्मचारीसँग टेलिफोनमार्फत प्रत्यक्ष संवाद गरी गुनासोसमेत सुनेका थिए।
प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको उक्त डेस्कले प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीका पेसागत तथा सेवागत समस्या सम्बोधन गर्ने उद्देश्य राखेको छ।
आईजीपी केसीले गुनासो व्यवस्थापन डेस्कमा खटिएका प्रहरी अधिकारीहरूलाई कर्मचारीले भोग्नुपरेका समस्या, कठिनाइ, असमान व्यवहार तथा विभेदसम्बन्धी गुनासो निष्पक्ष रूपमा सुन्न र समयमै उचित सम्बोधन गर्न निर्देशन दिएका छन्।
आधारभूत तहका प्रहरी कर्मचारीको पेसागत जीवनलाई सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउने लक्ष्यसहित स्थापना गरिएको यो संयन्त्रले प्रहरी संगठनभित्रका कर्मचारीका समस्या र गुनासो सम्बोधनमा केन्द्रीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

