काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाल एपीएफ क्लबको टोलीलाई बिदाइ गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा कर्णाली प्रदेशका विभिन्न स्थानमा सञ्चालन हुने प्रतियोगितामा एपीएफ क्लबको प्रतिनिधित्व गर्दै सहभागी हुन जाने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई आईजीपी पौडेलले बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा पौडेलले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एपीएफ क्लबको गौरव र प्रतिष्ठा बढाउन टोली सफल हुने विश्वास व्यक्त गरे।
उनले खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई सफलताको शुभकामना दिँदै प्रतियोगितामा उच्च मनोबलका साथ सहभागी हुन आग्रहसमेत गरे।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ मा एपीएफ क्लबले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दैछ।

