काठमाडौं । नेपाली सेनाका उपरथी अनुपजंग थापा रथी पदमा बढुवा भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयलाई नेपाली सेनाको भावी नेतृत्वसँग जोडेर हेरिएको छ। रथीमा बढुवासँगै थापा अब भावी प्रधानसेनापतिको सम्भावित दाबेदारका रूपमा अगाडि आएका छन्।
हालका प्रधानसेनापति अशोकराज सिग्देलको तीनवर्षे कार्यकाल २०८४ भदौ २४ गते सकिँदैछ। उनी अवकाशमा गएपछि वरिष्ठता र वरीयताक्रममा अगाडि रहे थापाले नेपाली सेनाको नेतृत्व सम्हाल्ने अवसर पाउनेछन्।
कुनै अप्रत्याशित परिस्थिति सिर्जना नभए उनी २०८४ भदौ २५ गतेदेखि प्रधानसेनापति बन्न सक्नेछन्।
नेपाली सेनामा प्रधानसेनापति नियुक्त गर्दा सामान्यतया वरिष्ठता र वरीयतालाई आधार बनाउने अभ्यास छ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रधानसेनापति नियुक्त गर्ने प्रावधान छ।
नेपालको संविधानको धारा २६७ को उपधारा ५ मा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ।
सैनिक ऐन, २०६३ अनुसार प्रधानसेनापतिको पदावधि तीन वर्षको हुन्छ। प्रधानसेनापतिको अनिवार्य अवकाशको उमेरहद ६१ वर्ष तोकिएको छ। तीनवर्षे कार्यकाल पूरा हुनुअघि नै ६१ वर्ष उमेर पुगेमा भने उमेरहदका कारण अवकाश लिनुपर्ने हुन्छ।
बहालवाला प्रधानसेनापतिको कार्यकाल सकिनुअघि वरिष्ठ रथीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने अभ्याससमेत नेपाली सेनामा रहँदै आएको छ।
0000
थापाको नाम गत कात्तिक ११ गते रथी पदमा बढुवाका लागि सिफारिस भएको थियो। रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बढुवा बोर्डले उनको नाम सिफारिस गरेको थियो।
बढुवा सिफारिसप्रति असन्तुष्टि भए उजुरी दिन सात दिनको समयसमेत दिइएको थियो। निर्धारित प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद्ले उनको बढुवालाई स्वीकृति दिएको हो।
नेपाली सेनाको २८ बेसिकका अधिकृत थापा यसअघि सहायकरथीबाट उपरथीमा बढुवा भएका थिए। उपरथी बनेपछि उनलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सहसंयोजकको जिम्मेवारी दिइएको थियो।
थापा उपरथीमा बढुवा भएदेखि नै भावी प्रधानसेनापतिको सम्भावित उम्मेदवारका रूपमा चर्चामा थिए। उनीसँगैका केही अधिकृत आवश्यक तालिम तथा अन्य योग्यता पूरा गर्न नसक्दा प्रतिस्पर्धाबाट पछि परेका थिए।
उपरथीमा बढुवाका क्रममा मधुकर कार्की पनि प्रतिस्पर्धामा थिए। तर नेशनल डिफेन्स कोर्स (एनडीसी) पूरा नगरेका कारण उनको बढुवा प्रक्रिया प्रभावित भएको थियो। नेपाली सेनामा उपरथीमा बढुवाका लागि एनडीसीलाई महत्त्वपूर्ण योग्यताका रूपमा लिइन्छ।
थापा अमेरिकी सैनिक संस्थाहरूमा विभिन्न तालिम लिएका अधिकृत हुन्। उनले अमेरिकामा सैनिक तालिम लिनुका साथै संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा पी–४ तहमा रहेर काम गरेको अनुभवसमेत हासिल गरेका छन्।
सेनाभित्र उनले प्रधानसेनापतिको उपसैनिक सहायक, २८ बाहिनीका बाहिनीपति तथा खरिपाटीस्थित सैनिक तालिम केन्द्रलगायत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

