काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठलाई दिइएको छ। यसअघिका प्रवक्ता सहायक रथी राजाराम बस्नेत प्रधानसेनापतिको सचिवालयमा सरुवा भएपछि श्रेष्ठ नयाँ सैनिक प्रवक्ताका रूपमा नियुक्त भएका हुन्।
बस्नेतले १८ महिनासम्म सैनिक प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। उनलाई प्रधानसेनापतिको सचिवालयमा सैनिक सहायकका रूपमा सरुवा गरिएको नेपाली सेनाले जनाएको छ।
नवनियुक्त प्रवक्ता श्रेष्ठले सेनासम्बन्धी भ्रामक समाचार तथा सूचनालाई चिर्न सञ्चारमाध्यमसँग निरन्तर संवाद र समन्वय गरिने बताएका छन्।
बिहीबार जङ्गी अड्डामा पत्रकारहरूसँग कुरा गर्दै उनले सेनासम्बन्धी कुनै विषयमा द्विविधा वा अन्योल भएमा तत्काल समन्वय गर्न सञ्चारमाध्यमलाई आग्रह गरे। ‘कुनै विषयमा द्विविधा भएमा समन्वय गर्न आग्रह गर्दछु,’ उनले भने।
३४ वर्षदेखि सैनिक सेवामा रहेका श्रेष्ठले २०४८ सालमा अधिकृत क्याडेटका रूपमा नेपाली सेनामा प्रवेश गरेका थिए। त्यसयता उनले सेनाका विभिन्न विभागमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन्।

