झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईको सरुवा हुने चर्चा चलिरहेका बेला मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई अघिल्लो महिनाकै हाराहारीमा रकम संकलन गर्न निर्देशन दिइएको आरोप सार्वजनिक भएको छ।
ट्राफिक प्रमुखको कार्यकाल सकिन लागेको अवस्थामा अन्तिम समयमा समेत विभिन्न क्षेत्रबाट रकम उठाउने दबाब दिइएको स्रोतको दाबी छ। ट्राफिक व्यवस्थापन र नियम कार्यान्वयन गर्नुपर्ने निकायमाथि नै आर्थिक असुलीमा केन्द्रित भएको आरोप लागेपछि झापा ट्राफिकको कार्यशैलीमाथि प्रश्न उठेको छ।
प्राप्त विवरणअनुसार झापाका विभिन्न क्षेत्रमा सञ्चालन हुने सफारी, अटो, ओभरलोड सवारी तथा भारतीय नम्बर प्लेटका सवारीसाधनबाट मासिक रूपमा रकम संकलन हुने गरेको आरोप छ।
दाबीअनुसार धुलाबारी बिटबाट १० हजार, चारआलीबाट १५ हजार, बसपार्कबाट १० हजार, लक्ष्मीपुरबाट २५ हजार, सुरुङ्गाबाट २० हजार, झिलझिलेबाट १५ हजार र दमकबाट २५ हजार रुपैयाँ उठाउने गरिएको बताइएको छ।
त्यस्तै, सफारी तथा अटोबाट प्रतिगोटा एक हजार रुपैयाँका दरले रकम उठाउने गरिएको आरोपसमेत लगाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राईको नेतृत्वमा ट्राफिक व्यवस्थापनभन्दा आर्थिक गतिविधिमा बढी ध्यान दिइएको भन्दै केही यातायात व्यवसायी तथा सरोकारवालाले गुनासो गरेको बताइएको छ।
ट्राफिक प्रहरी र केही यातायात तथा ढुवानी व्यवसायीबीच अस्वाभाविक निकटता रहेको, व्यवसायीको प्रभावमा कतिपय निर्णय हुने गरेको तथा दुर्घटना वा ट्राफिक कारबाहीसँग सम्बन्धित विषयमा समेत ‘केस मिलाउने’ प्रयास हुने गरेको आरोप पनि सार्वजनिक भएको छ।
विशेषगरी पूर्वेली ढुवानी सेवा तथा मेची बस सेवा/झापा बस सेवासँग सम्बन्धित गतिविधिमा ट्राफिक प्रहरीको भूमिका र निर्णयमाथि प्रश्न उठाइएको छ। केही व्यवसायीबाट नियमित रूपमा रकम उठाउने गरिएको दाबीसमेत गरिएको छ।
त्यस्तै, आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका वा अनुमति सम्बन्धी प्रश्न उठेका भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि समान रूपमा कारबाही नभएको गुनासो पनि सुनिन थालेको छ।
यसरी झापा ट्राफिक प्रहरीको जिम्मेवारी, कार्यशैली र आन्तरिक निगरानीमाथि गम्भीर प्रश्न उठ्छ। गुनासो सार्वजनिक भइरहँदा पनि सम्बन्धित निकाय मौन रहेको छ।

