काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमार्फत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन्।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन्।
त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय टोली पनि भ्रमणमा सहभागी हुनेछ। उनीहरूले भ्रमणको खर्च आफैँ व्यहोर्नेछन्। केही सञ्चारकर्मी पनि निजी खर्चमै भारत जानेछन्।
भ्रमणको मुख्य कार्यक्रम मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता रहेको छ। वार्तामा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहकार्य तथा विभिन्न विकास परियोजनाका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा केही सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत गरिएको छ।
दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।

