धेरैलाई यो प्रस्ट नै छ, तर सबैलाई थाहा नभएको भए अब थाहा होस् भनेर यति प्रस्ट पारौँ कि म नेपाल प्रहरीमा यो अवस्थामा नेतृत्वमा रहेको ब्याचमा दानबहादुर कार्की नै नेतृत्वका लागि अरूभन्दा योग्य र सक्षम हुन् भनेर प्रस्ट भन्दै आएको व्यक्ति हुँ र मलाई त्यो अहिले पनि लाग्छ।
अनि यो सत्यसँगै मान्दै र भन्दै आएको अर्को सत्य के पनि हो भने, आईजीपी बन्न दान नै सबैभन्दा योग्य हुन् भन्दै गर्दा पनि उनको ब्याचका अरू राम्रा अधिकृतहरूको सूची बनाउनु पर्दा मनोज केसी अग्रपंक्तिमा पर्छन् पनि भन्दै आएकै हो।
अलिक अगाडिदेखि आईजीपी दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाइन्छ भन्ने चर्चा चल्दै गर्दा, आईजीपी बन्नका लागि मनोज केसीले यो वा त्यो व्यक्तिसँग संवाद गरे भन्ने कुरा पनि सुनिएको थियो।
मनोज केसीले सुरुमै आईजीपी हुन प्रतिस्पर्धा गरे होलान्, जुन स्वाभाविक पनि हो। तर अब त्यसो नगर्लान् भन्ने पनि मानेको, ठानेको र भनेको पनि हो।
तर जब भइरहेका आईजीपी दानबहादुर कार्कीलाई अकारण जिम्मेवारीविहीन बनाउँदै मनोज केसीलाई आईजीपी बनाइयो, तब उहाँ नै सुरुमै आईजीपी हुनुपर्छ भन्नेहरूले समेत खुलेर बधाई दिन सकेनन्। यद्यपि, उनीहरूलाई अहिले पनि मनोज केसी एक असल मानिस र व्यावसायिक प्रहरी अधिकृत हुन् भन्ने नै लाग्छ।
उनीहरू ठान्छन् कि मनोज केसी दौडधुप गरेर आईजीपी भएका होइनन्, सरकारले बनाइहाल्यो अनि उनले इन्कार गर्न सकेनन्। अनि मनोज केसीभन्दा दान कार्की नै आईजीपी बन्न योग्य ठान्ने हामीलाई पनि मनोज केसीले आईजीपी पद स्वीकारे पनि उनले आफ्नो व्यावसायिक धर्म छोडेका छैनन् भन्ने सत्य होस् भन्ने लाग्ने।
यद्यपि, जब आफूलाई सरकारले अकारण जिम्मेवारीविहीन बनाएर गलत गरेकोले त्यो निर्णय खारेज होस् भनेर सम्मानित अदालतमा आईजीपी दानबहादुर कार्कीले हालेको मुद्दाका सम्बन्धमा छलफल गर्न बोलाउन पठाएको अदालती पत्र बुझ्न मनोज केसीको सचिवालयले इन्कार गरेको समाचार पढेपछि चाहिँ फेरि कतै बाहिरी दुनियाँले बुझेको मनोज केसी र वास्तविक मनोज केसीमा ठूलो भिन्नता रहेछ कि भन्ने पो देखियो।
नहोस् पनि कसरी? सातै दिन खुला रहनुपर्ने प्रहरी कार्यालयले सम्मानित अदालतको पत्रसमेत बुझ्दैन भने नेपाल प्रहरीले संविधान, ऐन र नियम पालना गर्छ र गराउँछ भनेर कसरी मान्ने?
अनि जानाजान अदालतको पत्रसमेत नबुझ्नु न्यायमा अवरोध गर्नु हो कि होइन? अनि न्यायमा अवरोध गर्ने काम र व्यावसायिक अधिकृतको छविबीच कहाँ भेट हुन्छ? बिल्कुल हुँदैन।
त्यसैले म यति जरुर भन्न चाहन्छु, हाम्रो लागि त परेन, तर सुरुमै तपाईंलाई आईजीपी बन्न योग्य ठान्नेहरूको निम्ति भए पनि आफ्नो व्यक्तित्व जोगाउनुस्, मनोज साब।
तपाईंलाई माया र समर्थन गर्ने त्यो पंक्ति अहिले तपाईं जसरी आईजीपी बन्नुभयो, त्यसैमा खुसी छैन। झन् अदालतको मानहानिमा आफ्नो लाभ देखेर काम गरेको भन्ने पर्यो भने तिनीहरूमा रहेको विश्वासप्रतिको विश्वास नै ढल्नेछ।
लेखक : राधाकृष्ण देउजा

