गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, योग्य उम्मेदवार छनोट र जनताप्रति जवाफदेहितालाई प्राथमिकतामा राखेको छ।
मंसिर ३ गते सम्पन्न पार्टीको विस्तारित जिल्ला बैठकमा आगामी निर्वाचनको तयारी, पालिका तथा वडा तहसम्म संगठन विस्तार, आन्तरिक एकता, कृषि क्षेत्रको व्यावसायीकरण र जिल्लाको विकास निर्माणका विषयमा छलफल भएको हो।
बैठकलाई सम्बोधन गर्दै सांसद गोविन्द पन्थीले राजनीति पद प्राप्त गर्ने माध्यम नभई जनताको जीवनमा परिवर्तन ल्याउने जिम्मेवारी भएको बताए। उनले गुटगत स्वार्थभन्दा विधि, विचार र सामूहिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
उनले आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा व्यक्तिगत सम्बन्ध र गुटगत निकटताभन्दा योग्यता, इमानदारी, सामाजिक प्रतिष्ठा, जनसम्बन्ध र कार्यक्षमताका आधारमा निर्णय गर्नुपर्ने बताए। आफूभन्दा योग्य व्यक्तिलाई नेतृत्वले अवसर दिन सक्नुपर्ने उनको भनाइ थियो।
पार्टीभित्र पदको आकांक्षा राख्ने तर जिम्मेवारी निर्वाह गर्न र आलोचना सुन्न नचाहने प्रवृत्तिको आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै पन्थीले आन्तरिक प्रतिस्पर्धालाई विधि र प्रक्रियाभित्र सीमित राखेर निर्वाचनमा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
गुल्मीको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको व्यावसायीकरणमा जोड दिँदै उनले बाँझो जमिनको उपयोग, चक्लाबन्दी, भूमि बैंक तथा कफी खेतीको उत्पादन, प्रशोधन र बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
त्यस्तै, विकास निर्माणमा हुने ढिलासुस्ती, अनियमितता र सार्वजनिक स्रोतको दुरुपयोग उजागर गर्नुका साथै त्यसको समाधानका विकल्पसमेत प्रस्तुत गर्नुपर्ने उनले बताए।
जनप्रतिनिधि र पार्टी संगठन जनताप्रति उत्तरदायी हुनुपर्ने भन्दै सार्वजनिक सुनुवाइ र कामको प्रगति नागरिकसमक्ष प्रस्तुत गर्ने अभ्यास आवश्यक रहेको उनको भनाइ थियो।
बैठकमा जिल्ला उपसभापति प्रगति राना मगरले स्वागत मन्तव्य राखेकी थिइन् भने जिल्ला सभापति हरि श्रेष्ठले बैठकका एजेन्डा प्रस्तुत गरेका थिए। प्रदेश सचिवालय सदस्य चेतबहादुर बस्नेत र सदस्य राजु कार्कीले पनि धारणा राखेका थिए।
बैठकमा संगठन विभाग, युवा सशक्तीकरण तथा खेलकुद, प्रचारप्रसार, RAT विभाग, पालिका इन्चार्जको जिम्मेवारी, सामाजिक सञ्जालको प्रयोग र पार्टी आचारसंहितालगायत विषयमा छलफल भएको थियो। विभिन्न पालिकाका प्रतिनिधिहरूले स्थानीय समस्या, संगठन विस्तार, सदस्यता वृद्धि र आगामी निर्वाचनको तयारीबारे सुझाव राखेका थिए।
बैठकमा सांसद पन्थीले व्यक्ति र गुटभन्दा विधि र संगठन बलियो बनाउँदै चुनाव जित्ने मात्र नभई जनताको विश्वास जित्ने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा जोड दिएका थिए।

