नेपालगञ्ज । नेपाल प्रहरीको भदौ महिनाको कार्यसम्पादन मूल्यांकनमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत (हाल नेपालगञ्ज) देशभरका २० गणमध्ये पहिलो भएको छ।
प्रहरी प्रधान कार्यालय, नक्सालले मातहतका गणहरूको कार्यसम्पादनका आधारमा गरेको मासिक मूल्यांकनमा विशेष सुरक्षा गणले सर्वोत्कृष्ट स्थान हासिल गरेको हो।
प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरको कमाण्डमा रहेको गणले सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन, अनुशासन तथा संगठनबाट प्राप्त जिम्मेवारी कार्यान्वयनमा उत्कृष्ट प्रदर्शन गरेको जनाइएको छ।
२० वटा गणबीच भएको मूल्यांकनमा पहिलो स्थान हासिल हुनु गणको समग्र व्यवस्थापन र कार्यसम्पादनको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
अब भने उक्त प्रदर्शनलाई आगामी महिनाहरूमा समेत निरन्तरता दिनु गणका लागि चुनौती हुनेछ।
